‘नो डिपोजिट’ आन्दोलनपछि बैंकहरूको निक्षेप सङ्कलन प्रभावित

नेपालभ्युज

‘नो डिपोजिट’ आन्दोलनपछि बैंकहरूको निक्षेप सङ्कलन प्रभावित

सुदूरपश्चिम । ‘नो डिपोजिट’ भन्दै व्यापारीहरूले सङ्घर्ष चर्काएपछि आज धनगढीका बैंक तथा वित्तीय संस्थामा निक्षेप सङ्कलन कार्य प्रभावित भएको छ ।

चर्को ब्याजदर बढाएको भन्दै विरोधमा केही दिनदेखि दबाबमूलक संघर्ष गरिरहेका व्यापारीले आज नो डिपोजिट भन्दै बैंकमा पैसा जम्मा नगरेपछि निक्षेप सङ्कलन प्रभावित भएको हो । ब्याजदर घटाउनुपर्ने मागसहित सङ्घर्ष गरिरहेका व्यापारीले बुधबार नेपाल राष्ट्र बैंक धनगढी शाखा घेराउसमेत गरेका थिए ।

बैंकहरूले ब्याजदर चर्को लगाएको व्यापारीको भनाइ छ । चर्को ब्याजदरले व्यापारीमात्र नभई आम सर्वसाधारणसमेत समस्यामा पर्न थालेको उनीहरूको दाबी छ । रकम निक्षेप र भुक्तानी गर्न दैनिक भीड देखिने धनगढीका बैंकहरूमा आज छिटपुट सेवाग्राहीमात्र देखिएका थिए । सुदूरपश्चिम प्रदेशका जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घले व्यापारीको सङ्घर्षमा ऐक्यबद्धता जनाएका छन् ।

नेपाल राष्ट्र बैंक धनगढी शाखाका प्रबन्धक विनोद लेखकले पछिल्लो तीन–चार महिनादेखि देशको आर्थिक अवस्थामा भइरहेको सुधारसँगै ब्याजदर पनि केही कम हुँदै गएको अवस्थामा चर्को ब्याजदर भयो भन्ने तर्क असान्दर्भिक रहेको बताए ।

‘बैंकको कस्ट उच्च हुन पुग्दा विगतमा बैंकको कर्जामा ब्याजदर पनि केही बढेको थियो’, उनले भने, ‘हाल चर्को ब्याजदर छ भन्न मिल्दैन ।’ बैंक तथा वित्तीय संस्थाको आधार दर र प्रिमियमका आधारमा ब्याजदर तोक्ने गरिन्छ । औसत निक्षेपमा दिएको ब्याज र औसत कर्जामा लिइने ब्याज स्प्रेडदर (अन्तर दर) चार प्रतिशतभन्दा बढी हुन नहुने नेपाल राष्ट्र बैंकको नीति छ ।

धनगढीस्थित एनआइसी एसिया बैंकका प्रबन्धक जीवन शाहीले देशमा आर्थिक तरलताले समस्या निम्त्याइरहेको बताए । ‘व्यापार छैन, महँगी बढेको छ, बैंकको कस्ट उच्च छ’, उनले भने, ‘एक वर्षदेखि नै ब्याजदर बढेको हो, अहिले उच्च पुगेको मात्र हो ।’

मुद्दतिको ब्याजदर नघटेसम्म एक अङ्कको ब्याजदर पुर्‍याउन सकिने अवस्था नरहेको उनले बताए । मुद्दती खातामा ११ देखि १२ प्रतिशतसम्म ब्याजदर छ । कर्जामा बढीमा साढे पन्ध्र प्रतिशतसम्म ब्याजदर तोकिएको जनाइएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved