काठमाडौं। यू–१९ विश्वकप एसियाली छनोटमा यूएईलाई पराजित गर्दै नेपाल विश्वकपमा पुगेको छ।
अजमानस्थित इडेन गार्डेन ओभलमा बिहीबार भएको खेलमा नेपालले यूएईलाई ७ रनले पराजित गरेको हो।
यससँगै नेपाल २०१६ पश्चात् पहिलो पटक यू–१९ विश्वकपमा पुगेको हो। सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपमा नेपालले स्थान पक्का गरेको छ।
१९२ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभरमा १८४ रनमा अलआउट भएको हो। घरेलु टोलीको लागि आर्यन सक्सेनाले ३४ र आर्यन्श शर्माले ३२ रन जोडे। नेपालको लागि दीपेश कँडेलले ५ तथा हेमन्त धामी र सुबाश भण्डारीले २–२ विकेट लिए। ४८ औं ओभरमा दीपेशले लगातार अन्तिम ३ विकेट लिँदै ह्याट्रिक पनि पूरा गरे।
पहिले ब्याटिङ गरेको नेपाल ४८.५ ओभरमा १९१ रनमा अलआउट भयो। नेपालको लागि देव खनालले ५१ र विशाल विक्रम केसीले ३८ रन बनाए।
Facebook Comment
Comment