धनगढी। सुदूरपश्चिम प्रदेशमा पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमणका लागि अब कञ्चनपुरको दक्षिणी क्षेत्र भएर जान पाइने भएको छ।
जिल्लाको भीमदत्त नगरपालिका मचगाउँ प्रवेशद्वार भएर मात्रै विगतमा निकुञ्ज भ्रमण गर्न पाइन्थ्यो, तर बुधबारदेखि बेल्डाँडी गाउँपालिका प्रवेशद्वार भएर पनि निकुञ्ज भ्रमण गर्न पाइने भएको हो ।
राष्ट्रिय निकुञ्ज भ्रमणका लागि दुईवटा प्रवेशद्वार भएपछि अब यहाँको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा लिइएको छ । विशेषगरी, धनगढी भएर आउने पर्यटकहरूलाई यो बाटो निकै सहज हुने बताइएको छ ।

बेल्डाँडी हुँदै मचगाउँ सम्मको ट्रयाक खुलेपछि अब पर्यटकहरूका लागि सजिलो र समयको पनि बचत हुनेछ । बुधबार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जंगल सफारी गर्दै बेल्डाँडी प्रवेशद्वारको शभारम्भ गरेका हुन् ।
जंगल सफारी र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सम्भावनासँगै समस्याबारे जानकारी लिएका मुख्यमन्त्री शाहले समस्याको समाधान र सम्भावनाको उजागरमा निजी क्षेत्रसँग सहकार्यका लागि तयार रहेको बताएका छन्।

शाहले पर्यटन क्षेत्रलाई समृद्धि र विकासको आधार मानेर प्रदेश सरकारले योजना ल्याउने बताएका हुन् । प्रदेश सरकारको तर्फबाट निजी क्षेत्रसँग समेत समन्वय गरी पर्यटन क्षेत्रमा लगानी भित्र्याउन केन्द्रित हुने उनको भनाइ छ । शाहले समग्र सुदूरपश्चिमको विकासका लागि पर्यटन क्षेत्रको संवर्द्धन, प्रवर्द्धन गर्न आवश्यक रहेको औँल्याए।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल (नाटा) सुदूरपश्चिमको पहल तथा बेल्डाँडी गाउँपालिकाको सहयोगमा खुलेको प्रवेशद्वारले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको संख्या बढ्ने अपेक्षा लिइएको छ । सुदूरपश्चिममा भएका सम्भावनाहरूको उजागर गर्दै पर्यटन प्रवर्द्धनमा नाटा सुदूरपश्चिमले सधैं सहकार्य गर्ने बताएको छ ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल (नाटा) सुदूरपश्चिमका अध्यक्ष पदम विक्रम सिंहले अब दक्षिणी क्षेत्रबाट समेत निकुञ्ज प्रवेशका लागि सहज हुने बताए । बेलडाँडी गाउँपालिकाले तत्कालका लागि चौधर नदीमा काठको पुल निर्माण गरी निकुञ्ज भित्र झन्डै डेढ किलोमिटर लामो ट्र्याक खोलेको छ ।

चौधर नदीमा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भइसकेको भए पनि निर्माण कम्पनीले काम सुरु भने गरेको छैन । अब यथाशिघ्र नदीमा पुल निर्माणको कामलाई तीव्रता दिन निर्माण कम्पनीलाई ताकेता गरिने बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले बताए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको वासस्थान एसियामै उत्कृष्ट रहेको दाबी गरिएको छ । यो निकुञ्ज बाह्रसिंगाको लागि प्रसिद्ध छ । सन् २०१४ मा यस निकुञ्जमा २,३०१ वटा बाह्रसिंगा गणना गरिएको छ । यो निकुञ्ज जंगली हात्तीका लागि पनि उत्तिकै प्रख्यात छ । यहाँ करिब २०–२५ वटा जंगली हात्ती रहेका छन् ।
सन् २०१७ को गणनाअनुसार यस निकुञ्जमा एकसिंङ्गे गैंडाको संंख्या १६ वटा रहेको छ भने सन् २०१८ मा गरिएको गणनाअनुसार यस निकुञ्जमा बाघको संख्या १६ रहेको छ ।

निकुञ्जको अधिकतम भाग सालको जंगलले ढाकिएको छ । बाँकी सिसौ र खयरको जंगल र घाँसे मैदान छ । जंगली हात्ती, पाटेबाघ, चितुवा, घोडगधा, बाह्रसिंगा, जरायो, चित्तल, लगुनाजस्ता स्तनधारी जनावर यस निकुञ्जका प्रमुख वन्यजन्तु हुन् ।
त्यस्तै, रानी ताल तथा अन्य स–साना तालहरूमा मगर गोहीहरू प्रशस्त पाइन्छन् भने रैथाने र बसाइ सरी आउने गरी ४२४ भन्दा बढी चराचुरुङ्गीहरू पाइन्छन् । वन्यजन्तु अवलोकनका लागि यो निकुञ्ज स्वर्ग मानिन्छ ।
अन्य निकुञ्जको तुलनामा पर्यटनको निकै सम्भावना रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको संरक्षण, प्रवर्द्धन तथा प्रचार-प्रसार नहुँदा अपेक्षा गरेअनुसार पर्यटक भित्र्याउन सकिएको छैन ।

सुरक्षित जंगल सफारी, सहज बाटो लगायतका काममा निकुञ्ज प्रशासनले निकै ध्यान दिनुपर्ने देखिन्छ । साथै, सरकारी निकायले अपनत्व ग्रहण गरी यसको प्रवर्द्धनमा योगदान दिए पक्कै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन सकिन्छ ।
Facebook Comment
Comment