काठमाडौं। प्रदेश १ को नाम ‘कोसी’ राख्न नेकपा माओवादी केन्द्र पनि सहमत भएको छ । कांग्रेस र नेकपा एमालेले प्रदेशको नाम कोशी पेश गर्ने सहमति पहिल्यै गरेका थिए ।
चार वटा मुख्यमन्त्री पछि बल्ल प्रदेशको नाममा दलहरू सहमति नजिक पुगेका हुन्। यसअघि, मुख्यमन्त्री बनेका शेरधन राई, भीम आचार्य र राजेन्द्र राईले प्रदेशको नामाकरण गर्न सकेका थिएनन।
चौथो मुख्यमन्त्री बनेका हिक्मत कार्कीले यसको जस पाउने देखिएको छ। पहिचानको पक्षमा रहेको माओवादी केन्द्रले पनि कोसीमा मतदान गर्ने निर्णय गरेसँगै अब करिब–करिब नाम टुङ्गो लागेको हो।
नेकपा एकीकृत समाजवादी र जसपा भने प्रदेशको नाम कोशी मात्रै राख्न सहमत भएका छैनन्। समाजवादीले लिम्बू र राई संस्कृतिको पहिचान सहितको नाम हुनुपर्ने भनेको छ भने जसपाले कोचिला पनि जोड्नुपर्ने बताएको छ।
यसैबीच, आजैको बैठकमा कोशी नाम राख्नको लागि एमालेका प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेको प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ।
प्रस्तावमा भनिएको छ, ‘संविधानको धारा २९५ को उपधारा २ तथा प्रदेश नं. १ प्रदेश सभा (पहिलो संशोधन) नियमावली, २०७५ को परिच्छेद १०, नियम ५८ को उपनियम (ख) १ संग २९५ को उपधारा (२) बमोजिमको यस प्रदेशको नामकरण तपशिलमा उल्लेखित नाम कायम गरियोस् ।’
Facebook Comment
Comment