भारतको पञ्जाबमा पृथकतावादी आन्दोलन चर्किँदै, नयाँ भिन्डरवालेको चर्चा

अमृतपाल सिंह खालसाले भारत र पाकिस्तान दुवैतिर परेको पञ्जाब, भारतकै हिमाञ्चल र कश्मिरका निश्चित क्षेत्र समेटेर एक भिन्नै खालिस्तान देश बनाउनु पर्ने माग गरेका छन् ।

नेपालभ्युज

भारतको पञ्जाबमा  पृथकतावादी आन्दोलन चर्किँदै, नयाँ भिन्डरवालेको चर्चा

काठमाडौं। भारतको पञ्जाब प्रदेशमा खालिस्तान आन्दोलन पुनश्च: सतहमा आएको छ । ‘बारिस पञ्जाब दे’ नामक संगठनले पञ्जाबमा पृथकतावादी आन्दोलनलाई गति दिन थालेको हो । यसको नयाँ नेताका रूपमा २९ वर्षीय युवा अमृतपाल सिंह खालसा चर्चामा आएका छन् ।

उनले एक टिभी अन्तर्वार्तामा भनेका छन्–‘हो, म पृथकतावादी हुँ । सिख धर्मले हामीलाई अस्तित्व र पहिचानका लागि संघर्ष गर्न सिकाउँछ । पञ्जाबको उत्तराधिकारी हुँ । पञ्जाबीपनका लागि अन्तिम सास रहेसम्म लड्छु ।’

फेब्रुअरी २३ मा अमृतसारको प्रहरी थाना अजनालमा खालसाका समर्थकले कब्जा जमाएपछि उनी एकाएक चर्चामा आएका थिए । आफ्ना एक कार्यकर्तालाई प्रहरीले थुनामा राखेको भन्दै खालसा समर्थकले प्रहरी थाना कब्जा गरेका थिए ।

अजनाला थाना कब्जाका क्रममा भएको झडपमा केही प्रहरी घाइते भएका थिए । यो घटनापछि खालसालाई भारतीय सञ्चार माध्यमले नयाँ भिन्डरवालेको संज्ञा दिएका छन् ।

जर्नेल सिंह भिन्डरवालले सन् १९८० को दशकमा एक लोकप्रिय खालिस्तानी नेता थिए । सन् १९८४ मा भिन्डरवाले र उनका समर्थकले अमृतसार गोल्डेन टेम्पल ९ दिनसम्म कब्जा गरेका थिए । त्यसका विरुद्ध भारतको संघीय सरकारले एक विशेष सुरक्षा अभियान सञ्चालन गरेको थियो जसलाई अपरेसन ‘ब्लु स्टार’ भनिन्छ । यो अपरेसनमा भिन्डरवालेसहित ४९२ जना मारिएका थिए ।

यो घटनाले सिख समुदाय र तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धीबीचको मनोवैज्ञानिक दूरी बढेको थियो । सन् १९८४ को अक्टोरबरमा दुई सिख अंगरक्षकले चलाएको गोलीबाट प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएको थियो ।

अमृतपाल सिंह खालसाले भारत र पाकिस्तान दुवैतिर परेको पञ्जाब, भारतकै हिमाञ्चल र कश्मिरका निश्चित क्षेत्र समेटेर एक भिन्नै खालिस्तान देश बनाउनुपर्ने माग गरेका छन्।

लामो समय दुबई बसेर १ वर्षअघि मात्र स्वदेश फर्किएका खालसाको लोकप्रियता यो स्तरमा अभिवृद्धि भइसकेको कसैले अनुमान गरेको थिएन ।

‘वारिस पञ्जाब दे’ संगठनको स्थापना सन् २०२१ मा पञ्जाबी सिने अभिनेता तथा कलाकार दीप सिद्दुले गरेका थिए । सन् २०२२ को फेब्रुअरीमा उनी एक सडक दुर्घटनामा मृत्यु भएको अवस्थामा फेला परेका थिए । उनको मृत्यु दुर्घटना थियो कि षड्यन्त्र भन्ने विवाद उठेको थियो ।

दीप सिद्दुको मृत्युपछि ‘बारिस पञ्जाब दे’ ले अमृतपाल सिंह खालसालाई नयाँ नेता बनाएको थियो । सञ्चारमाध्यमका अनुसार खालसाको शरीर, बोलीचाली र तर्क प्रणाली भिन्डरवालेसँग मिल्दोजुल्दो छ । उनी अमृतसरभन्दा ४० किलोमिटर टाढाको गाउँमा बस्ने गर्दछन्।

फेब्रुअरी २३ को अजनाल प्रहरी थाना कब्जामा उनी आफैँ संलग्न थिए । घटनापछि पञ्जाब सरकारले वार्ता गरेको थियो । ‘बारिस पञ्जाब दे’को बढ्दो संगठन र अमृतपाल सिंह खालसाका क्रियाकलापलाई केन्द्रको भाजपा र प्रदेशको आप सरकारले कसरी सामना गर्ने हुन्, त्यो भने अझै अस्पष्ट छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved