काठमाडौं। भैरहवा विमानस्थल सञ्चालन गरी पर्यटन क्षेत्रमा गरिएको ४० अर्ब लगानी सुरक्षित गर्न एमाले सांसद वासुदेव घिमिरेले माग गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा घिमिरेले विमानस्थल निर्माण भएको एक वर्ष पूरा हुँदासमेत पूर्णरूपमा सञ्चालनमा आउन नसकेको बताए। केही समयअघि हप्ताको दुईवटा उडान भए पनि अहिले बन्द भएको उनको भनाइ छ।
‘भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको एक वर्ष पुग्न लागेको छ। पूर्णरूपमा अहिलेसम्म सञ्चालनमा आउन सकेन । केही समयअघि हप्ताको दुईवटा उडान भएको थियो। अहिले बन्द भएको छ,’ घिमिरेले भने, ‘मौसम खराबी हुँदा माघ ४ गते नेपाल एयरलाइन्सको विमान भारतको कोलकत्ता लगेर अवतरण गरिएको थियो।’
भैरहवा विमानस्थल सञ्चालनमा भारतले अनुमति नदिएकाले उडान हुन नसकेको सञ्चारमाध्यममा आएकाले त्यो विषयमा सम्बन्धित मन्त्रालयले संसदलाई स्पष्ट जानकारी दिनुपर्ने उनको भनाइ छ।
‘अहिले पत्रपत्रिकाहरूमा भारतले अनुमति नदिएको कारण रोकिएको भन्ने बुझिएको छ। यो के हो ? सम्बन्धित मन्त्रालयले संसदमा स्पष्ट पार्न अनुरोध गर्दछु, ‘घिमिरले भने, ‘निर्माणको क्रमसँगै निजी क्षेत्रले पर्यटन क्षेत्रमा ४० अर्ब बढी लगानी गरेको छ । लगानी संकटमा परेको अवस्था छ । संकटलाई तत्काल मुक्त गराउनको लागि सरकारसँग माग गर्न चाहन्छु।’
Facebook Comment
Comment