मालाखेती अस्पतालको स्वास्थ्य सेवामा सुधार, अध्यक्ष आफैं बिरामीको उपचारमा

आफैँ बिरामी जस्तो रहने मालाखेती अस्पताल अहिले भने सयौँ बिरामीको उपचार गर्ने थलो बनेको छ ।

नेपालभ्युज

मालाखेती अस्पतालको स्वास्थ्य सेवामा सुधार, अध्यक्ष आफैं बिरामीको उपचारमा

धनगढी। सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी घोषणा गरिएको कैलालीको गोदावरी नगरपालिका-३ मा रहेको मालाखेती अस्पताल कुनै समय आफैँ बिरामीझैं हुन्थ्यो, अस्पताल प्राय: सुनसानजस्तै थियो । आफैँ बिरामी जस्तो रहने मालाखेती अस्पताल अहिले भने सयौँ बिरामीको उपचार गर्ने थलो बनेको छ ।

प्राथमिक सवास्थ्य चौकीबाट अस्पतालमा स्तरोन्नति भएको नौ वर्ष पुग्दासम्म मालाखेती अस्पताल स्वास्थ्य केन्द्रकै सेवामा सीमित थियो । पछिल्लो समय अस्पतालमा आवश्यक उपकरण थपिनुका साथै बिरामीको चाप पनि निकै बढेको छ भने गुणस्तरीय स्वास्थ्य सेवा पाएपछि बिरामी पनि खुसी छन्।

गोदावरी नगरपालिका तथा कञ्चनपुरको कृष्णपुर नगरपालिकाका बिरामीहरूलाई मध्यनजर गर्दै २०७१ सालमा गोदावरी प्राथमिक स्वास्थ्य चौकीबाट मालाखेती अस्पतालका रूपमा स्तरोन्नति गरिएको थियो ।

स्तरोन्नतिपछि सरकारी लगानीसँगै भौतिक संरचना पनि थपिए । तर, यस अस्पतालले यहाँका नागरिकको विश्वास जित्न सकेको थिएन । मासिक खोप तथा सामान्य प्राथमिक  उपचारमा सिमित मालाखेती अस्पतालले अहिले विशेषज्ञ सेवा दिन थालेको छ ।

पछिल्लो समय यस अस्पतालबाट दैनिक सयौँको संख्यामा बिरामीले सेवा लिइरहेका छन् । मालाखेती अस्पतालमा सुत्केरी गराउनेहरू मात्रै विगतभन्दा दोब्बरले बृद्धी भएको छ । पहिला सीधै धनगढी वा अन्त जाने बिरामीहरू अहिले मालाखेतीबाटै सेवा लिइरहेको अस्पतालकी मेट्रोन यसोदा ढकालले बताइन् ।

उनले कुनै बेला सुत्केरी जाँचका लागि समेत अस्पतालमा नआउने सेवाग्रही अहिले यतै आएर सुत्केरी हुन थालेका छन् । हाल मासिक ५० भन्दा बढी महिला सुत्केरी भइरहेको ढकालको भनाइ छ । अस्पताल लाई जटिल बिरामीबाहेक अन्यको सेवा दिन समस्या नभएको उनको बुझाइ छ।

विगतमा फोहोरै, फोहोर देखिने मालाखेती अस्पताल अहिले सफा र चिटिक्क देखिन्छ । सरकारले खरिद गरेर प्रयोगविहीन रहेका उपकरण अहिले प्रयोगमा ल्याइएको छ ।

पछिल्लो समय मालाखेती अस्पतालले सेवा सुविधामा सुधार ल्याएपछि यस क्षेत्रका सेवाग्राही पनि खुसी छन् । अहिले सामान्य बिरामी हुँदा धनगढी तथा अन्यत्र जानुपर्ने बाध्यता हटेको गोदावरी नगरिपालिका वडा नम्बर १ का पदम प्रकाश पन्तले जानकारी दिए । उनले अस्पतालमा केही सुधार भए पनि अझै धेरै काम बाँकी रहेको बताए ।

त्यस्तै, स्थानीय पदमराज भट्टले अहिले अस्पतालमा आएको सुधारले यस क्षेत्रका नागरिकमा खुसी ल्याएको भए पनि यस लाई निरन्तरता दिन आवश्यक रहेको बताए ।

उनले ५० शैय्याको अस्पतालमा सरकारले दक्ष स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने बताए । अहिले स्थानीय र प्रदेश सरकारले यसलाई महत्त्वका साथ हेर्न जरुरी रहेको उनको भनाइ छ।

मालाखेती अस्पतालमा अहिले विषेशज्ञसहित तीनजना चिकित्सक कार्यरत छन् । दरबन्दीअनुसार पर्याप्त स्वास्थ्यकर्मी रहेको अस्पतालले खरिद गरेको उपकरणको प्रयोग र प्रशासनिक सुधारलाई जोड दिएको छ । हाल अस्पतालले दिने दैनिक सेवासँगै बेड भर्ना गरेर उपचार सुरु गरेको मालाखेती अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अन्वेश कोइरालाले जानकारी दिए । उनले लगत्तै हाइड्रोसिल, हर्नियाको अप्रेसन सेवा समेत सुरु गर्ने अस्पतालले तयारी गरेको बताए ।

नगरपालिकाले अस्पताल व्यवस्थापन समिति अध्यक्षमा डा. नरबहादुर मौनीलाई नियुक्त गरेसँगै अस्पतालको सुधारमा केन्द्रित छन्।

पछिल्लो समय निजी अस्पताल खोल्ने होडबाजीले धनगढी तथा अत्तरिया अस्पतालको हब त बन्दै गएको छ, तर प्रतिस्पर्धामा उत्रेर खोलिने निजी अस्पतालले गरिबको ढाड सेक्नेगरी रकम असुल्न थालेपछि धेरै गरिब नागरिक बिचल्लीमा छन् । त्यसकारण निम्नवर्गीय नागरिकलाई नि:शुल्क स्वास्थ्य सुविधा दिई सरकारको आभास दिलाउन सरकारी अस्पतालको स्तरोन्नति र विकासमा जोड दिन आफू लागिपरेको कोइराललाले जानकारी दिए ।

अस्पतालका अध्यक्ष मौनी, जो आफैँ बिरामीको उपचारमा खटिन्छन्

झट्ट हेर्दा अस्पतालका चिकित्सकले उपचार गरिरहेको झैँ देखिने यो तस्वीर बुझ्दा फरक छ । बिरामीले उपचार सेवा त पाइरहेका हुन्, तर यो अस्पतालका चिकित्सकबाट नभई व्यवस्थापन समिति अध्यक्षबाट सेवा पाइरहेका छन् ।

मालाखेती अस्पताल पुग्दा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा.नर बहादूर मौनी एकजना हात भाँच्चिएका बिरामीको उपचारमा थिए । अध्यक्ष डा.मौनीले ति बिरामीको हात प्लास्टर गर्दै गर्दा हामी पुगेका थिए । हातमा चोट लागेर मालाखेती अस्पताल पुगेका ती युवकको उपचारमा अध्यक्ष मौनी आफैँ खटिएका थिए ।

ती युवकको उपचारमा मात्रै होइन मौनी अन्य थुप्रै बिरामीको उपचारमा आफैँ खटिएका हुन्छन् । नागरिकको सेवा गर्ने हुटहुटी बोकेका मौनी अध्यक्षको रूपमा भन्दा पनि अस्पतालमा कर्मचारीझैँ काममा खटिएका देखिन्छन् । उनीअस्पताल पुग्दा बिरामी सुझाव लिन पुग्छन् ।

उनले समय मिलाएर मालाखेती अस्पतालका बिरामीलाई उपचार सेवासँगै परामर्श पनि दिने गरेका छन् । “पद्मा अस्पतालमा अधिकाशं निम्न तथा मध्यम वर्गीय मानिस उपचारका लागि आउनुहुन्छ,” अध्यक्ष मौनीले भने “आधाजती पहाडी भुभाग भएको नगरपालिकामा अझै धेरै नागरिक गरिबीको रेखामुनी हुनुहुन्छ, उहाँहरू सबैको निजि अस्पतालमा गएर उपचार गर्ने सामर्थ्य हुँदैन त्यस कारण मालाखेती अस्पतालमै आफूले पनि केही सेवा दिन प्रयास गरेको हुँ ।”

उनले १ जना विशेषज्ञ चिकित्सक भए पनि सबै सेवा दिन सक्ने अवस्था अहिले नबनिसकेको बतए । उनले भने “दैनिक समय मिलाएर यहाँ आउँछु, अस्पतालको प्रशासनिक व्यवस्थापनबारे बुझ्नुका साथै, भौतिक सुधार, सरसफाइलगायतमा पनि खटिन्छु, म आउँदा बिरामीले आश बोकेका हुन्छन्, यतै मैले गर्न सक्ने उपचारका लागी उहाँहरूलाई बाहिर जान बाध्य पार्दैन म सहयोग गर्ने गरेको छु ।”

मौनी निजी क्षेत्रबाट सञ्चालित पद्मा अस्पताल प्रा.लीमा कार्यरत हाड जोर्नी विशेषज्ञ डाक्टर हुन् । निजी अस्पताल सञ्चालकको भुमिकामा लामो समयदेखि कार्यरत डा.मौनीलाई गोदावरी नगर र्कापालिकाले सरकारी मालाखेती अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेको थियो । उनी आएपछि यो अस्पतालमा विस्तारै परिवर्तन देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved