पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षामा व्यापार गरिरहेको आरोप लगाएकी छन् । शुक्रबार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् ।
उनले सरकारले शिक्षा, स्वास्थ्यसहितका हरेक कुरामा व्यापार गरिरहेको बताउँदै शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका कारण अधिकांश आर्थिक स्थिति कमजोर रहेका नेपालीहरूले छोराछोरीहरूलाई अध्ययन गराउन नसकेको बताइन् ।
कार्कीले सरकारले दिइरहेको स्कलरसिप र सहुलियत कसले पाउँछ त्यो पनि थाहा नहुनेगरी काम भइरहेको भन्दै आपत्ति जनाइन् । उनले आर्यघाटमा पुर्याइएको शवमाथि पनि व्यापार हुने र जलाउनको लागि चन्दा संकलन गर्नुपर्ने अवस्था समाजमा
देखिएको बताइन्।
उनले भनिन्, ‘अहिले त शिक्षा व्यापार, स्वास्थ्य व्यापार, हरेक कुरामा व्यापार छ । कतिपय आमाबुबा रोएको देख्छु, पढाउने इच्छा छ, डाक्टर बनाउने इच्छा छ । डाक्टर बनाउने, इन्जिनियर बनाउने इच्छा राखेका छन् । बुबाआमालाई पनि पढाउने रहर छ, सरकारले दिने सहुलियत कसले पाउँछ त्यो पनि थाहा छैन । शिक्षा व्यापार भएको छ। पहिला त्यस्तो थिएन । पहिला गरिबका बच्चाले पनि चाहँदा पढ्न सक्थ्यो । गरिबका छोराछोरी पनि डाक्टर बन्न सक्थ्यो । अब अहिले पैसा नभई केही पनि हुँदैन। आर्यघाटमा जल्न त महँगो भइसक्यो । कसले डोनेसन देला र दाहसंस्कार होला कसले डोनेसन देला र लास जल्ला भन्ने भइसक्यो । समाज यो अवस्थामा पुगिसकेको छ ।’
पूर्वप्रधानन्यायाधीश कार्कीले शिक्षामा व्यापार हुन्जेलसम्म सामाजिक उत्थान हुन नसक्ने बताइन् उनले नागरिकलाई गास, वास र कपासका साथै शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता सरकारले गर्न नसकेको भन्दै राजनीतिक दलहरू एउटा कुर्सीको भिडेर बसिरहेको बताइन् ।
Facebook Comment
Comment