काठमाडौं। नेपाल खेलकुद पत्रकार मञ्चले ‘एनएसजेएफ स्पोर्ट्स अवार्ड २०७८’ फागुन २३ मा आयोजन गर्ने भएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा मञ्चले १९औं संस्करणको अवार्ड कार्यक्रम फागुन २३ मा गर्ने घोषणा गरेको हो। मञ्चले गत वर्ष नेपाली खेलकुदको प्रदर्शनको आधारमा खेलाडी तथा खेलकर्मीलाई अवार्डले सम्मान गर्नेछ।
यसपटक पनि ९ विधामा अवार्ड प्रदान गरिनेछ । उत्कृष्ट महिला तथा पुरुष खेलाडी, पिपुल्स च्वाइस अवार्ड, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट युवा खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड उत्कृष्ट पाराएथ्लिट अवार्ड र स्पेसल अवार्ड प्रदान गरिनेछ।
साथै, एक एसियाली खेलकुद पत्रकारलाई पनि एसियन जर्नलिस्ट अवार्डले सम्मानित गरिनेछ। विगतमा एनएसजेएफले उत्कृष्ट पुरुष, महिला खेलाडी, प्रशिक्षक तथा पिपुल्स च्वाइस अवार्डका विजेतालाई पल्सर मोटरसाइकल उपहारस्वरूप दिँदै आएको थियो। यस वर्ष भने उत्कृष्ट युवा खेलाडीलाई पनि मोटरसाइकल पुरस्कार दिइनेछ।
कार्यक्रमको मुख्य प्रायोजन हंसराज हुलास चन्द एन्ड कम्पनीले गर्ने भएको छ। मञ्च र हुलासबीच थप ५ वर्षको लागि सम्झौता पनि भएको हो। मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र हुलासका प्रबन्ध निर्देशक अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरे। यसअघि, लगातार १३ संस्करणको कार्यक्रममा पनि हुलासले मुख्य प्रायोजन गरिसकेको छ।
Facebook Comment
Comment