डा. सन्दुक रुइतलाई १३ करोड रुपैयाँको इसा अवार्ड

नेपालभ्युज

डा. सन्दुक रुइतलाई १३ करोड रुपैयाँको इसा अवार्ड

बहराइन। आँखा चिकित्सक डा. सन्दुक रुइतले १० लाख डलर राशीको प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन् । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार हरेक दुई वर्षमा संसारभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ ।

बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले सन् २००९ मा स्थापना भएर सन् २०१३ देखि यो अवार्ड प्रदान गर्दै आएको छ । अवार्डको पाँचौं संस्करण–सन् २०२३ मा डा. रुइतलाई उक्त पुरस्कार घोषणा गरिएको हो ।

मंगलबार बहराइनको राजधानी मनमामा आयोजित पुरस्कार घोषणा समारोहमा राजाका प्रतिनिधिको रूपमा उपस्थित राजपरिवारका सदस्य शेख मो. बिन मुबारक अल खालिफाले डा. रुइतले अन्धोपन निवारणका लागि गरेको मानव कल्याणका लागि उनलाई इसा अवार्डका लागि छनोट गरिएको जानकारी दिए ।

डा. रुइतले मोतियाबिन्दु भएका बिरामीको उपचार गर्ने सरल विधि विकास गर्नुका साथै इन्ट्राअकुलर लेन्सको विकास गरी सुलभ दरमा उपलब्ध गराएका थिए । त्यसबाट नेपाललगायत विकासोन्मुख देशका अन्धोपन भएका लाखौं व्यक्तिले नेत्रज्योति प्राप्त गरेका कारण उनलाई यो पुरस्कारबाट सम्मान गरिएको हो।

इसा अवार्ड यसअघि मलेसियाकी चिकित्सक जमिला महमूद (सन् २०१३), भारतका समाजसेवी तथा शिक्षाविद् डा. अच्युत सामन्त (सन् २०१५), इजिप्टको बालबालिका क्यान्सर अस्पताल (सन् २०१७) र पाकिस्तानको ईदी फाउन्डेशन (सन् २०१९) लाई प्रदान गरिएको थियो । कोभिडका कारण पछिल्लो चार वर्षमा अहिले आएर मात्र इसा अवार्ड घोषणा गरिएको हो ।

यो अवार्डअन्तर्गत डा. रुइतलाई १० लाख डलर(झन्डै १३ करोड ८ लाख नेपाली रुपैयाँ), गोल्ड मेडल र प्रमाणपत्र आगामी फेब्रुअरी महिनामा प्रदान गरिनेछ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved