काठमाडौं । इरानको इस्लामिक सरकारले आफ्नै पूर्व उप रक्षामन्त्री अली रेजा अकबरीलाई फाँसी दिएको छ । उनी लामो समयदेखि बेलायतमा बस्दै आएका थिए ।
उनलाई सन् २०१९ मा ‘केही कुटनीतिक संवाद गर्नु छ’ भनेर झुक्याएर इरान बोलाइएको थियो । उनी इरान पुगे लगत्तै गिरफ्तार गरिएको थियो । त्यस यता उनी इरानको सैन्य हिरासतमा थिए ।
उनीमाथि बेलायतमा बसेर इरान विरुद्ध जासुसी गरेको र उप रक्षामन्त्री रहँदाका गोप्य सुचना विदेशीलाई दिएको आरोप लगाइएको थियो । अकबरीलाई शुक्रबार फाँसी दिइएको इरानले पुष्टि गरेको छ ।
बेलायती प्रधानमन्त्री ऋषि सुनकले घटनाको निन्दा गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन–‘इरानमा बेलायती– इरानी नागरिक अली रेजा अकबरीको मृत्युदंडले म स्तब्ध छु । यो एक निर्दयी र कायरतापूर्णं कार्य थियो, जुन बर्बर शासनले आफ्नै नागरिकको मानवअधिकारको सम्मान नगरेको हो । म अली रेजाका साथी र परिवारहरुसँगै छु ।’
अली रेजासँग बेलायत र इरानको दोहोरो नागरिकता थियो । फासी हुनु अगाडी बिबिसी विश्व सेवाले अकबरीको एक अडियो टेप सार्वजनिक गरेको थियो । त्यसमा उनले आफूलाई चरम शारिरिक तथा मानसिक यातना दिएर आफूले गर्दै नगरेको अपराध स्वीकार गर्न लगाइएको बताएका थिए ।
अडियोमा अली रेजा अकबरीले भनेका थिए–‘ मलाई चरम यातना दिइएको छ। मलाई यिनीहरु पागल बनाउँन चाहन्छन् ।’
इरानमा पछिल्लो समय फाँसीको सजाय बढ्दै गइरहेको छ । सन् २०२२ को सेप्टेम्बरमा हिजाब आन्दोलन भड्किएकपछि इरानको मानव अधिकार स्थितिबारे विश्वव्यापी चिन्ता छाएको छ ।
अकबरीलाई फाँसी दिइएकोमा अन्तराष्ट्रिय अधिकारवादी संस्थाले इरानको चर्को निन्दा गरेका छन् ।
Facebook Comment
Comment