सन्दीप लामिछाने धरौटीमा रिहा

एक किशोरीमाथि बलात्कार गरेको आरोप लागेपछि जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए पनि उच्च अदालतले फैसला उल्ट्याउँदै धरौटीमा रिहा गरेको हो।

नेपालभ्युज

सन्दीप लामिछाने धरौटीमा रिहा

काठमाडौं। नाबालिका बलात्कार आरोपमा पुर्पक्षको लागि थुनामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन्।

एक किशोरीमाथि बलात्कार गरेको आरोप लागेपछि जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए पनि उच्च अदालतले फैसला उल्ट्याउँदै धरौटीमा रिहा गरेको हो।

उच्च अदालतले जिल्ला अदालतको उक्त आदेश उल्टाउँदै सर्तसहित २० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएपछि लामिछाने आज (शुक्रबार) रिहा भएका हुन्।

आदेश अनुसार सन्दीपले काठमाडौं उपत्यका बाहिर जाँदा जिल्ला प्रहरी कार्यालय काठमाडौंको अनुमति लिनुपर्नेछ। पीडित परिवारलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्न, डर, त्रास वा धम्की दिन पाउने छैनन्।

५ भदौमा तिलगंगास्थित एक होटेलमा नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध २१ भदौमा जाहेरी परेको थियो। त्यसवेला उनी नेपाली टोलीसँगै केन्या भ्रमणमा थिए।

केन्या भ्रमण बीचमै छाड्दै सन्दीप क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न जमैका पुगेका थिए। क्यारेबियन लिग छाडेर लामिछाने आफूमाथि लागेको आरोपमाथि अनुसन्धान सहज बनाउन स्वदेश फर्किए।

स्वदेश फर्कँदा उनी २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। १४ कात्तिकमा जिल्ला अदालत काठमाडौंमा लामिछानेविरुद्ध मुद्दा परेको थियो।

१६ कात्तिकमा थुनछेक बहस सुरु भएको थियो। कात्तिक १८ मा उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षको लागि थुनामा पठाएको थियो।

लामिछानेका कानुन व्यवसायीले किशोरी नाबालिग नरहेको जिकिर गर्दै आएका छन्। सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको छ ।

लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका थिए। पक्राउ परेको १ सय दिनपछि उनी छुटेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved