प्रहरीलाई महिनावारी बुझाउने तस्करहरूको लिस्टसहित पत्रकार महासंघ कैलालीमा निवेदन

नेपालभ्युज

प्रहरीलाई महिनावारी बुझाउने तस्करहरूको लिस्टसहित पत्रकार महासंघ कैलालीमा निवेदन

धनगढी। कैलालीमा खुल्ला सीमा नाकाबाट समय– समयमा व्यापक मात्रामा सामान तस्करी हुने कुरा कुनै नौलो कुरा होइन । भारतबाट भन्सार छलेर विभिन्न सामान तस्करी गर्ने क्रम रोकिएको छैन । कैलालीको एक सय किलोमिटर खुल्ला सीमाबाट हुने तस्करीका कारण लाखौं राजस्व चुहावट भइरहेको छ ।

कैलालीमा भन्सार कार्यालयसँगै सशस्त्र प्रहरी सीमा सुरक्षा पोस्ट पनि छ । उसको काम सीमा क्षेत्र सुरक्षाका साथै तस्करी रोक्नु पनि हो । तर, कैलालीमा एक पछि अर्को घटना बाहिरिँदै छ ।

सोमबार मात्रै कैलाली प्रहरीलाई महिनावारी रकम बुझाएर खुलेयाम भारतबाट अवैध तस्करी गर्ने गरेको आरोपसहित २० जनाको नाम राखेर पत्रकार महासंघ कैलालीमा उजुरी परेको छ ।

सामाजिक अभियन्ता नामबाट हुलाकमार्फत पठाइएको निवेदनमा जिल्लाको पूर्वी क्षेत्रमा तस्करी गर्ने र प्रहरीलाई महिनावारी रकम बुझाउने गरेको आरोपसहित नाम समेत तोकिएको छ ।

सोमबार पत्रकार महासंघ कैलालीमा सो निवेदन हुलाकमार्फत पुगेको पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले बताए । पत्रकार महासंघ कैलालीलाई दिएको निवेदनमा यस्तो भनिएको छ ।

‘महोदय, हाल आएर कैलाली जिल्लामा तस्करहरूको अखडा बनेको छ । निज तस्करलाई प्रहरीका घुमुवाहरूले संरक्षण दिएको हुनाले कैलालीका सम्पुर्ण नाकाहरूबाट विभिन्न चोरी तस्करीका समानहरू भित्र्याउनमा प्रहरी नायब निरीक्षक सुनील चन्द र नन्दराज भट्टले कैलालीका सबै नाकाबाट असुली धन्दा गरी कार्यालय प्रमुखलाई पनि कुनै जानकारी नदिई गुमराहमा राखेको र निजमाथि छानबिन गरी आवश्यक कारबाही होस् भनी यो पत्र पेश गरेका छौँ । चिनीका नाइकेलाई आवश्यक कारबाही गरियोस्, छानबिन गर्दा पुलिस प्रशासनबाट नभई अन्य जनमानसबाट होस्, हाल आएर प्रत्येक ठाउँबाट पैसा उठाउने गरेको र निज दुई जनामाथि छानबिन होस् भनी यो पत्र पेश गरेका छौँ ।

पत्रमा भारतीय मुद्राको कारोबारी, सुन तस्कर, काठ तस्कर, लागुऔषध तस्करहरूसँग समेत निज दुवै जना संलग्न भएकोले  आवश्यक कारबाही गरियोस् ।

यसबारे निष्पक्ष छानबिन गरी दोषी उपर कारबाही हुनुपर्ने महासंघले माग राखेको छ ।

के भन्छ कैलाली प्रहरी ?

यस विषयमा बुझ्दा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक वेद प्रकाश जोशीले छलफलका लागि अहिले बैठक बस्ने तयारी गरेको बताए ।

कोही असन्तुष्ट पक्षले भ्रम फैलाउन यस्तो गरेको हुन सक्ने बताउँदै जोशीले वास्तविकता बाहिर ल्याउने बताए । पत्रकार महासंघमा आएको उजुरीलाई गम्भीरताका साथ लिएर अनुसन्धान गर्ने उनले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख देवेन्द्रबहादुर पालले पनि आवश्यक अनुसन्धान गर्ने बताए । उनले भने ‘यसको गहिराइमा हामी जान्छौँ सम्बन्धित व्यक्तिलाई सोधपुछ गर्छौं र दोषी ठहरिए कारबाही गर्नेछौँ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved