काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए वकिलहरूले बहस बहिष्कार गर्ने विषयमा निर्णय नलिइसकेको नेपाल बार एशोसिएसनले जनाएको छ। सल्लाहकार समितिले बहस बहिस्कार गर्न सुझाव दिए पनि सो अनुसार निर्णय भइनसकेको बारको एक पदाधिकारीले बताए । प्रधानन्यायाधीश जबराले राजीनामा नदिए सर्वोच्च अदालतमा बहस बहिष्कार गर्न सुझाव दिएको सल्लाहकार समितिका सदस्य वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले बताए।
उनले भने ‘‘प्रधानन्यायाधीशले राजीनामा नदिए विरोधका कार्यक्रम गर्न र त्यसअन्तर्गत बेन्च बहिस्कार गर्न सुझाव दिएका छौँ। त्यसअन्तर्गत कालोपट्टी बाध्नेदेखि इजलास बहिस्कारसम्मका कार्यक्रम हुन्छन् होला। अहिले सर्वोच्चमा न्यायाधिशहरुले इजालस बहिस्कार गरेका छन्। जसबाट सेवाग्राही सेवा लिनबाट वञ्चित भएका छन्। यो अवस्था लम्बिँदैन। प्रधानन्यायाधीशले जति चाँडो राजीनामा दिनुहुन्छ, त्यति नै चाँडो सेवाग्राहीले सेवा लिन पाउनुहुन्छ। ’’
छलफलमा बार सल्लाहकार समितिका अधिकांश सदस्यहरूले आन्दोलन गर्न सुझाव दिएका थिए। सल्लाहकार समितिमा बारका पूर्व अध्यक्ष, पूर्व महासचिव र वरिष्ठ अधिवक्ताहरू रहन्छन्।
यसअघि मंगलबारै दिउँसो सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले भने कसैले राजीनामा माग्दैमा नदिने बताउँदै आएका छन्।
Facebook Comment
Comment