काठमाडौं। विश्वकप फुटबलको सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाले खेल्ने पक्का भएको छ । यी दुई देशबीचको खेल मंगलबार राती पौने १ बजे सुरु हुनेछ ।
विश्वकपमा दुई देशबीच भएका खेलको विगत हेर्दा दुवै टोली उत्तिकै बलियो देखिएका छन् । अर्जेन्टिना र क्रोएसियाले यसअघि २ वटा विश्वकपमा प्रतिष्पर्धा गरेकोमा दुवै देश एक/एक खेलमा विजयी भएका छन् ।
सन् १९९८ को विश्वकपमा अर्जेन्टिनाले क्रोएसियालाई १-० गोलले हरायो । त्यतिबेला ३६ मिनेटमा पिनेडाले गरेको गोल नै अर्जेन्टिनाको जितको आधार बनेको थियो ।
तर सन् २०१८ को विश्वकपमा भने क्रोएसियाले अर्जेन्टिनालाई हरायो । अर्जेन्टिनालाई ३-० गोलले हराउने क्रममा क्रोएसियाका रेविक, लुका मोड्रिच र र्याकेटिचले गोल गरेका थिए ।
विश्वकपबाहेक यी दुई देशले थप ३ वटा खेल खेलेका छन् । अर्जेन्टिना र क्रोएसियाबीच सन् १९९४ मा भएको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो ।
सन् २००६ को मैत्रीपूर्ण खेलमा क्रोएसियाले ३ गोल हान्दा अर्जेन्टिनाले २ गोल हानेर हार्यो । सन् २०१४ मा भएको मैत्रीपूर्णमा अर्जेन्टिना २-० गोलले विजयी भयो । अहिलेसम्मका पाँच वटा खेलमा क्रोएसियाले ७ गोल र अर्जेन्टनाले ५ गोल गरेका छन् ।
Facebook Comment
Comment