काठमाडौं। कतारमा चलिरहेको विश्वकप फुटबलको पहिलो कर्वार्टरफाइनलमा आज शुक्रबार ब्राजिल र क्रोएसिया खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजे सुरु हुँदैछ । पाँच पटकको विश्व विजेता ब्राजिल र साबिकको उपविजेता क्रोएसियाबीचको खेल बडो रोमाञ्चक हुने अनुमान छ । ब्राजिल यो विश्वकपको सबैभन्दा बलियो मध्येको एक दाबेदार हो ।
ब्राजिलले अहिलेसम्म १९५८, १९६२, १९७०, १९९४ र २००२ गरेर पाँच पटकसम्म विश्वकपको उपाधि जितेको छ । तर क्रोएसियाले अहिलेसम्म जितेको छैन ।
हेड टु हेड हेर्दा क्रोएसिया भन्दा ब्राजिल धेरै बलियो देखिएको छ । यी दुई देशबीच ४ वटा खेल भएकोमा अहिलेसम्म ३ खेल ब्राजिलले जितेको छ भने एक खेल बराबरीमा सकिएको छ । ब्राजिलले ७ गोल गरेको छ भने क्रोएसियाले २ गोल मात्रै गरेको छ ।
सन् २००५ मा भएको मैत्रिपूर्ण खेल १-१ को बराबरीमा सकिएको थियो । सन् २००६ मा भएको विश्वकपमा ब्राजिलले क्रोएसियालाई १-० गोलले हरायो भने सन् २०१४ को विश्वकपमा पनि ३-१ गोलले विजयी भयो । सन् २०१८ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा पनि ब्राजिल २ गोलले विजयी भएको थियो ।
अन्तिम १६ मा उत्कृष्ट नतिजा निकालेर ब्राजिल र क्रोएसिया विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेका हुन् । क्रोएसियालाले जापानलाई पेनाल्टी सुटआउटमा हरायो । जापानका ३ वटा पेनाल्टी क्रोएसियाका गोल किपर लिभाकोभिचले रोके । यस्तै ब्राजिलले पनि दक्षिण कोरियालाई ४-१ गोलले हराएर क्वार्टरफाइनलमा पुग्यो । समूह चरणमा उरुग्वे र पोर्गुगललाई हराएको दक्षिण कोरिया ब्राजिलसँग निरिह बन्न पुग्यो ।
Facebook Comment
Comment