मौद्रिक नीतिको त्रैमासिक समीक्षाले बैंकहरूको नाफा १५ प्रतिशत घट्छ : पवन गोल्यान

नेपालभ्युज

मौद्रिक नीतिको त्रैमासिक समीक्षाले बैंकहरूको नाफा १५ प्रतिशत घट्छ : पवन गोल्यान

काठमाडौं।  बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले बैंकहरूको नाफा १५ प्रतिशत घट्ने बताएका छन्। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा समग्र अर्थतन्त्रको समस्याभन्दा पनि बैंकको नाफा कम गर्ने हिसाबले आएको बताएका हुन्।

उनले मौद्रिक नीतिको समीक्षाबारे प्रतिक्रिया दिँदै बैंकहरूको स्पेडदर ०.४ प्रतिशत घटाउँदा बैंकको नाफा १० देखि १५ प्रतिशतसम्म घट्ने अवस्था देखिएको दाबी गरे। उनले बैंकहरूको नाफा घट्दैमा वर्तमान अर्थतन्त्रमा देखिएको समस्या समाधान हुन नसक्ने बताए।

अध्यक्ष गोल्यानले राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाहरूको अभिभावक भए पनि बैंकहरूलाई नै धराशायी बनाउने गरी मौद्रिक नीति ल्याएको बताए। उनले मौद्रिक नीतिको समीक्षाबाट बैंकहरूको अभिभावक राष्ट्र बैंक भएपनि बैंकहरूलाई सौतेनी व्यवहार जस्तो गरेको आरोप लगाए।

अध्यक्ष गोल्यानले बैंकको निक्षेपको ब्याजदर घट्नुको भने विकल्प नभएको बताए। उनले छिमेकी देश भारतमा निक्षेपको ब्याजदर ६ प्रतिशत रहेको तर नेपालमा भने १२ प्रतिशत ब्याजदर हुनु उचित नभएको बताए। उनले रेमिट्यान्स आएको बेला मात्रै निक्षेप बढ्ने तर ९ प्रतिशतबाट निक्षेपको ब्याज बढाएर १२ प्रतिशत पुर्‍याउँदासमेत निक्षेप बढ्न नसकेको बताए।

उनले पौषसम्ममा ३ प्रतिशतसम्म ब्याजदर कम हुनुपर्ने बताए। अध्यक्ष गोल्यानले बैंकिङ प्रणालीमा चरम तरलता अभाव रहेको बताए। उनले बैंकहरूको खराब कर्जा बढ्नसक्ने अवस्था देखिएको बताए। उनले पुस महिनामा बैंकको पैसा रिफाइनान्समार्फत ७० अर्ब रुपैयाँ बाहिर जान्छ त्यसपछि अझ बढी तरलताको समस्या बढ्ने देखिएको बताए।

उनले निजी क्षेत्रले बुझ्दै नबुझी बैंकको ब्याजर घटाऔं मात्रै भनेर गाली गरेर मात्रै समस्याको समाधान नहुने बताए। उनले ब्याजदर लगायतका समस्या समाधान गर्न बैंक र निजी क्षेत्र मिल्न आवश्यक रहेको बताए।

अध्यक्ष गोल्यानले मौद्रिक नीतिको समिक्षा बैंकहरूलाई मात्रै टार्गेट राखेकाले बैंकहरू धरासायी हुने बताए। उनले मौद्रिक नीतिमा लागू गर्ने भनिएको दोहोरो ब्याजदर प्रणाली तत्काल लागू गर्न माग गरे। उनले सबै क्षेत्र बच्न सक्ने गरी मौद्रिक नीतिको समिक्षा हुनुपर्नेमा त्यस्तो नभएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved