काठमाडौं। शनिबारबाट हुने वडा अधिवेशन, कार्तिक ९ गते हुने पालिका अधिवेशन र राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शुरु बैठकमा दशौं राष्ट्रिय महाधिवेशन कहाँ गर्ने भन्ने विषयमा छलफल हुनेछ।
हालै सम्पन्न विधान महाधिवेशनले राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने भन्दै स्थान तोकेपनि सारिने चर्चा छ। आठौं महाधिवेशन बुटवलमै भएकाले अब भने चितवनमा गर्ने प्रस्ताव आएको नेताहरु बताउँछन्। स्थायी कमिटी बैठकले उक्त प्रस्ताव स्विकार्ने सम्भावना रहेको एक नेताले बताए। एमालेको मंसिर १० देखि १२ गतेका महाधिवेशनको मिति तोकेको छ।
यसअघि विधान महाधिवेशन समापनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने माग आएकाले अन्यथा निर्णय नभए बुटवलमै महाधिवेशन गर्ने घोषणा गरेका थिए।
Facebook Comment
Comment