भोट माग्न कर्णाली पुगेका शीर्ष नेता मतदातालाई चुनावी एजेण्डाभन्दा विपक्षीलाई गाली दिएर फर्किए

भोट माग्न कर्णाली पुगेका शीर्ष नेता मतदातालाई चुनावी एजेण्डाभन्दा विपक्षीलाई गाली दिएर फर्किए

सुर्खेत। कर्णालीमा सत्ता गठबन्धन दल र प्रतिपक्ष दलका शीर्ष नेताहरूको दौडधुप बढेको छ।

गत कार्तिक २२ गते माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल‘प्रचण्ड’, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णालीका हुम्ला, जुम्ला, कालीकोट र सुर्खेतमा गरिएका चुनावी सभालाई सम्बोधन गरे। त्यसको एक हप्तापछि कार्तिक २९ गते प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल सुर्खेत र दैलेखमा आयोजना गरिएका चुनावीसभालाई सम्बोधन गर्न आइपुगे।

कार्तिक २७ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले कर्णाली प्रदेशका जुम्ला, कालीकोट, दैलेख र सुर्खेतमा आयोजना चुनावी सभालाई सम्बोधन गरे। कर्णालीमा सत्तापक्ष र प्रतिपक्षले चुनावलाई प्रतिष्ठाको बिषय बनाएका कारणले उनीहरूले कर्णालीमा दौडधुप बढाएका हुन्।

चुनावी सभालाई सम्बोधन गर्न आएका शीर्ष नेताहरूले आफ्ना चुनावी एजेण्डा मतदातामाझ प्रस्तुत गर्नुभन्दा पनि विपक्षीलाई गाली गरेर फर्किए। कालीकोटको रास्कोटमा आयोजना गरिएको नेकपा एमालेका ओलीले तानाशाहविरुद्ध लड्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालेले कपालमा जेल लगाएर आएको र आफूले १४ वर्ष जेलमा बसेको बताए।

प्रचण्डले जनयुद्धका नाममा भारतमा बसेर कपालमा जेल लगाएर सार्वजनिक भएको र आफूले तानाशाह विरुद्ध लड्दा १४ वर्ष जेलमा बसेर निकै दुःखकष्ट गरेको बताए। ‘नेपालमा गरिबका छोरीछोरीलाई लड्न लगाएर आफू भारतमा बसेर कपालमा जेल लगाए’,उनले भने,‘जनयुद्धका नाममा आफन्तलाई सेवा सुविधा दिइरहेका छन्। घाइते, अपाङ्ग र सहिद परिवारले के पाएका छन्?’ उनले प्रचण्डले कपालमा जेल लगाएर सार्वजनि भएको विषयमा कटाक्ष गर्दै भने,‘कपालमा जेल लगाएर चिटिक्क परेर आएको हैन ?’ उनले भने,‘म त तानाशाहको विरुद्ध लड्न जेलनेल खाएर आएको हुँ।’

त्यस्तै, प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीको जसरी संसद् विघटन नगर्ने बताए। गुर्भाकोट नगरपालिकामा आयोजना गरिएको चुनावीसभामा बोल्दै उनले ओलीको संसद् विघटन र प्रतिगमनकारी कदमविरुद्ध बनेको गठबन्धन भएकाले देश र समृद्धिका लागि गठबन्धन लामो समयसम्म कायम रहने बताए।

‘ओलीजीले दुई पटक संसद विघटन गर्नुभयो। संविधानको अंगभंग गर्ने काम गर्नुभयो’, देउवाले भने ,‘हामी संसदको पूर्ण कार्यकाल राख्न चाहन्छौँ। यतिमात्र होइन माननीयहरूलाई संसदको आलोचना गर्न दिन्छौं। आलोचना गर्ने बित्तिकै ओलीको जसरी संसद विघटन गर्दैनौं।’ संविधानको रक्षा र गणतन्त्रको संस्थागत विकासका लागि गठबन्धन बनेको प्रधानमन्त्री देउवाले बताए। त्यसका लागि गठबन्धनले जित्न आवश्यक रहेको उनको भनाइ थियो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीको अंहकारका कारणले कम्युनिष्ट एकता टुटेको बताए। ओलीले बामगठबन्धन मात्रै हैन, पार्टी एकतासम्म भएकोमा उनमा पलाएको अंहकारका कारणले देश बर्बाद बनाएको प्रचण्डको भनाइ थियो।

‘पार्टी एकतासहित कम्युनिष्ट सरकार बनाएका थियौं।’ उनले भने,‘त्यही कम्युनिष्ट सरकारले सदन दुई-दुई पटक विघटन गरेर उनले अंहकार देखाएर प्रतिगमन गर्न खोजे।’अहिलेको वामलोकतान्त्रिक गठबन्धन त्यसैको उपज भएको र दीर्घकालसम्म कायम रहने उनले बताए।

गठबन्धन शान्ति सम्झौताकै निरन्तरता भएको प्रचण्डको भनाइ थियो। ‘यो गठबन्धन अबको १५-२० वर्षसम्म कायम रहन्छ।’ उनले भने,‘देशमा राजनीतिक परिवर्तन अनुकूल आर्थिक सम्बृद्धि नभएसम्म गठबन्धन कायम रहने छ।’ संविधानको रक्षा र शान्ति प्रक्रियाका बाँकी काम र सम्बृद्धिको लागि गठबन्धनको आवश्यकता रहेको प्रचण्डले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved