काठमाडौं। भू–उपयोग नियमावली र घरजग्गा कारोबार घट्दा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा घर जग्गाको कित्ताकाटमा ८६.२४ प्रतिशतले कमी आएको छ ।
गत आर्थिक वर्ष २०७८-०७९को श्रावण, भदौ र असोज महिनादेखि चालु आर्थिक वर्ष २०७९-०८०को सोही तीन महिनामा घरजग्गाको कित्ताकाटमा ८६.२४ प्रतिशतले कमी आएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जानकारी दिएको हो । आर्थिक वर्ष २०७८-०७९ को श्रावण, भदौ र असोज महिनामा ४ लाख ४१ हजार ७७० भएको कित्ताकाट आर्थिक वर्ष २०७९-०८० को सोही तीन महिनामा ५६ हजार ३६० कित्ताकाट भएको विभागले बताएको छ । घरजग्गाको कित्ताकाटमा भू–उपयोग नियमावली लागू भएसँगै शहरी क्षेत्र र बाहिर जिल्लाहरूमा समेत जग्गाको कित्ताकाट घट्दै गएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका सूचना अधिकारी विष्णुकुमार महतले भू–उपयोग नियमावली अनुसार स्थानीय तहहरूले जग्गा वर्गिकरण गर्न नसक्दा कारोबार तथा कित्ताकाटमा कमी आएको बताए । उनले चालु आर्थिक वर्षको तीन महिनामा गत आर्थिक वर्षको तुलनामा घरजग्गाको कित्ताकाट,कारोबार र राजश्व संकलनमा समेत कमी आएको स्वीकार गरे ।
चालु आर्थिक वर्षको साउन महिनामा ९८ हजार ६४ कारोबार हुँदा ९ अर्ब ९३ करोड ४२ लाख ४१ हजार राजश्व भएको उनले बताए । सूचना अधिकारी महतले भदौ महिनामा १ लाख ८ हजार ८८१ कारोबार हुँदा ३ अर्ब ५६ करोड रुपैयाँ राजश्व उठाएको बताउँदै उनले पछिल्लो महिना विभिन्न चाडपर्वका कारण सरकारी कार्यालयहरूमा बिदा हुँदा कारोबारमा कमी आएको दाबी गरे ।
भू–उपयोग परिषदले जग्गाको वर्गिकरण पछि मात्रै जग्गाको कित्ताकाट गर्नुपर्ने व्यवस्था नियमावलीमा छ । अहिले सबै स्थानीय तहहरूले जग्गाको भू–उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गरिनसकेको अवस्था छ । त्यसकारण घरजग्गा कारोबारमा कमी आएको देखिन्छ । मालपोत कार्यालयहरूमा भएको जग्गाको कारोबारको तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा कित्ताकाट, कारोबार र राजश्व संकलनसमेत कमी रहेको छ ।
जतिसक्दो चाँडो भू–उपयोग नीति अनुसार जग्गाको वर्गीकरण गर्न सकियो भने मात्रै कारोबार बढ्नसक्छ । चालु आर्थिक वर्षको तीन महिनाको कारोबार हेर्दा साउनमा ९८ हजार ६४ कारोबार हुँदा ९ अर्ब ९३ करोड ४२ लाख ४१ हजार राजश्व उठाएका थियौं । भदौ महिनामा १ लाख ८ हजार ८८१ कारोबार हुँदा ३ अर्ब ५६ करोड रुपैयाँ राजश्व उठाएका थियौं । साउनको भन्दा भदौमा राजश्व बढी संकलन भएको देखिन्छ । पछिल्लो महिना विभिन्न चाडपर्वहरू भएर सरकारी कार्यालयहरूमा बिदा भएको कारण पनि कारोबारमा कमी आएको हो ।’
Facebook Comment
Comment