दैलेख–१ : एमालेमा दशकौं राजनीति गरेका तीन पूर्व सहकर्मीबीच प्रतिस्पर्धा

प्रतिनिधिसभामा उम्मेदवार रहेका तिनै जना झण्डै तीन दशकदेखि नै नेकपा (एमाले)को राजनीतिमा सक्रिय थिए । शर्माले अहिले एमाले दैलेखको नेतृत्व गरिरहेका छन् भने थापा एमालेमा विभाजनपछि एकीकृत समाजवादीका नेता बनेका छन् । नेपालीले एमालेका शर्माविरुद्ध बागी उम्मेदवारी दिएका छन् ।

दैलेख–१ : एमालेमा दशकौं राजनीति गरेका तीन पूर्व सहकर्मीबीच प्रतिस्पर्धा

सुर्खेत। दैलेखमा प्रतिनिधिसभाका दुईवटा निर्वाचन क्षेत्र छन् ।  ति मध्ये क्षेत्र नम्बर १ मा तीन जना पूर्व सहकर्मीबीच नै मुख्य प्रतिस्पर्धा हुँदैछ । नेकपा एमालेका जिल्ला अध्यक्ष रवीन्द्रराज शर्मा, एकीकृत समाजवादी कर्णाली प्रदेशका अध्यक्ष अम्मरबहादुर थापा र स्वतन्त्र उम्मेदवारी दिएका पूर्व एमाले नेता गोपाल नेपालीबीच प्रतिस्पर्धा हुँदैछ । यसै क्षेत्रबाट राप्रपाबाट कुन्ती शाही पनि उम्मेदवार छन् ।

प्रतिनिधिसभामा उम्मेदवार रहेका तिनै जना झण्डै तीन दशकदेखि नै नेकपा (एमाले)को राजनीतिमा सक्रिय थिए । शर्माले अहिले एमाले दैलेखको नेतृत्व गरिरहेका छन् भने थापा एमालेमा विभाजनपछि एकीकृत समाजवादीको नेता बनेका छन् । नेपालीले एमालेका शर्माविरुद्ध बागी उम्मेदवारी दिएका छन् ।

नेपाली एमालेका पुराना नेता हुन् । थापाले १४ वर्ष एमाले दैलेखको नेतृत्व गरेका थिए । २०४८ यता पार्टीको नेतृत्वमा शर्मा रहँदा थापा सचिव र थापा नेतृत्वमा हुँदा शर्माले सचिव भएर सहकार्य गरेका थिए ।

एकीकृत समाजवादीका उम्मेदवार रहेका थापालाई वाम लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलको समर्थन छ । पार्टीका पुराना नेता नेपाली बागी उठेपछि एमालेका उम्मेदवार शर्मा चिन्तामा छन् ।

दैलेख जिल्लामा लामो समयदेखि काम गरेकाले जनताको विश्वास आफूसँग भएको समाजवादीबाट उम्मेदवार रहेका थापाले बताए । ‘मैले दैलेख जिल्लामा रहेर जनप्रतिनिधि र राजनीतिक दलको नेता तथा कार्यकर्ताका रूपमा लामो समयदेखि काम गरेको छु ।’ उनले भने, ‘मेरो इमान जनतामा गरेको कामका आधार नै मेरा जित्ने आधार हुन् ।’

त्यस्तै, एमालेका उम्मेदवार रहेका शर्माले स्वास्थ्य, शिक्षा र सडकमा आफूले काम गरेको संगठनका आधारमा पनि आफू बलियो भएको बताए । ‘मैले दैलेख जिल्लामा रहेर लामो समय काम गरेको आधारमा जनताले मलाई मत दिनेछन् ।’ उनले भने, ‘ अन्य धेरै कारणहरू छन्, जुन मैले जित्ने आधार हुन् ।’

पार्टीमा जनताभन्दा आफ्ना नजिककालाई मात्र अवसर दिने प्रवृति मौलाएपछि त्यसविरुद्ध विद्रोह गरेको नेपाली बताउँछन् । आफू छलछाम गर्न नजान्ने इमान्दार कार्यकर्ता भएकाले पनि जनताले मत दिने उनको विश्वास छ । चुनाव जितेपछि पनि आफूले निष्पक्ष रूपमा काम गर्ने नेपालीले बताए ।

यस्तो छ, स्थानीय तहको परिणाम

दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा ६ वटा स्थानीय तह छन् । महावु, नौमुले, भगवतीमाई, डुंगेश्वर, गुराँस गाउँपालिका र नारायण नगरपालिका । जसमा ४६ वटा वडा छन् ।

स्थानीय तहको निर्वाचनमा डुंगेश्वर गाउँपालिका, गुराँस गाउँपालिका र नारायण नगरपालिकामा एमाले विजयी भएको थियो । भगवतीमाई गाउँपालिका र नौमूले गाउँपालिका माओवादी केन्द्रले र महावु गाउँपालिका कांग्रेसले जित्यो ।

तर सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा उम्मेदवारी भने एउटै गाउँपालिका नजितेको एकीकृत समाजवादीले पाएको छ । थापालाई कांग्रेस र माओवादीकै भर देखिन्छ । यता एमाले भने स्थानीय चुनावमा धेरै जितेकाले त्यही आधारमा प्रतिनिधिसभामा पनि जित निकाल्ने विश्वासमा छ ।

तर पार्टीकै पूर्व नेताको बागी उम्मेदवारी र सत्ता गठबन्धन एकै ठाउँमा भएकाले एमालेलाई सहज भने छैन । नेपालीले कति मत ल्याउँछन् एमालेको हार जित पनि त्यसकै आधारमा तय हुने स्थानीय विष्लेषकको अनुमान छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved