वैदेशिक रोजगारीको पीडा- २५ जनालाई मृत्युदण्ड, केहीले पाए, केही कुर्दै

धन कमाउन गएका ५ सय ५० भन्दा बढी नेपाली विदेशका जेलमा

नेपालका मुख्य रोजगारदाता साउदी अरब, मलेसिया, युएइ लगायतका देशमा ५ सय ५० जना नेपाली विभिन्न अभियोगमा जेलमा रहेको वैदेशिक रोजगार बोर्डले बताएको छ। तीमध्ये २५ जना नेपालीलाई रोजगारदाता देशको कानुनअनुसार मृत्युदण्डको सजाय सुनाइएको छ।

नेपालभ्युज

वैदेशिक रोजगारीको पीडा- २५ जनालाई मृत्युदण्ड, केहीले पाए, केही कुर्दै

काठमाडौं ।मृत्युदण्डको सजाय पाएर १५ वर्षदेखि जेलजीवन बिताइरहेका उदयपुरका विवेक दाहाललाई साउदी अरब सरकारले कात्तिक ६ गते  कार्यान्वयन गर्‍यो । दाहाल २ फेब्रुअरी २००७ मा मोरङका राजेन्द्र विष्टको हत्या गरेकोमा दोषी पाइएका थिए । 

२०७१ साउन १९ मा भिमाद–५ तनहुँकी शोभा परियारलाई पनि साउदी अरबले  मृत्युदण्ड दिएको थियो।

२०५८ जेठमा मृत्युदण्ड सजाय सुनाइएका म्याग्दीका सन्तबहादुर पुन साउदीमा २२ वर्षयता जेलमै छन्। उनी रियादबाट १२ सय किमि टाढा पर्ने कुरैयात जेलमै छन् । भेडा खोस्न आएका साउदी नागरिकको हत्या गरेको अभियोगमा उनलाई सजाय दिइएको छ ।

स्थानीय अदालतले ०५८ साल जेठ पहिलो साता ‘मृतकको परिवारले आममाफी नदिए मृत्युदण्ड हुने’  फैसला सुनाएको थियो। तर माफी नदिएपछि उनी मृत्युदण्ड कुर्दैछन्।

आफ्नै मालिकको हत्या अभियोगमा २०७० भदौ २३ गते तल्लो अदालतबाट मृत्युदण्डको सजाय पाएकी नवलपरासीकी ५४ वर्षीय सरस्वती घिमिरे (गुरुङ) रियाद जेलमै छिन् ।

दूतावासको प्रभावकारी पहलकदमी हुँदा मृत्युदण्डको सजाय पाइसकेकाहरू स्वदेश फिरेका घटना पनि छन्। पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्ड पाई सन् २००६ देखि जेलजीवन बिताइरहेका उमेश यादव दुई वर्षअगाडि स्वदेश फिर्न पाएका थिए ।

मलेसियामा मृत्युदण्ड सुनाइएका सप्तरीका ३८ वर्षीय राजकुमार साहलाई २०७८ पुषमा नेपाल फर्काइयो। गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा उनको उद्धार गरिएको थियो।

एक महिनाअघि मलेसयामा एक नेपालीको मृत्युदण्डको सजाय परिवर्तन भएपछि बाँच्न सफल भए। वैदेशिक रोजगारीमा मलेसयामा रहेका धनुषाको गोविन्दपुर–२ का सुरज देव साह तेलीको मृत्युदण्डको सजाय परिवर्तन गरी १२ वर्ष जेल सजाय सुनाइएको छ।

तेलीलाई कर्तव्यज्यानको अभियोगमा सन् २०१६ डिसेम्बरमा मलेसियन प्रहरीले पक्राउ गरेको थियो। सजाय सकिएपश्चात् उनी नेपाल फर्कन पाउनेछन्।

५ सय ५० नेपाली जेलमा

नेपालका मुख्य रोजगारदाता साउदी अरब, मलेसिया, युएइ लगायतका देशमा ५ सय ५० जना नेपाली विभिन्न अभियोगमा जेलमा रहेको वैदेशिक रोजगार बोर्डले बताएको छ। तीमध्ये २५ जना नेपालीलाई रोजगारदाता देशको कानुनअनुसार मृत्युदण्डको सजाय सुनाइएको छ।

कतिपयको सजाय कार्यान्वयन भएको छ भने कतिपय वर्षौँदेखि जेलमै  मृत्युदण्ड कुरिरहेका छन्। केही श्रमिक जेलमै भए पनि सजाय सुनाउन बाँकी छ।

बोर्डका अनुसार सबैभन्दा धेरै मलेसियामा नेपाली श्रमिकलाई मृत्युदण्डको सजाय सुनाइएको छ। त्यहाँ १६ जना नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । साउदी अरबमा मृत्युदण्डको सजाय पाउने ५ जना नेपाली छन्।

तिमध्ये २ जनाको सजाय कार्यान्वयन भइसकेको छ । कुवेतमा ३ जना र युएईमा १ जना नेपालीलाई मृत्युदण्डको सजाय तोकिएको छ।

साउदी अरबमा ३० भन्दा बढी नेपाली श्रमिक जेलमा छन्। बहराइनको जेलमा ५ नेपालीले सजाय काटिरहेका छन्। कुवेतमा ५८ जना नेपाली जेलमा छन्। ९ जनाले आजीवन कारावासको सजाय पाएका छन्। बैदेशिक रोजगार बोर्डका अनुसार कतारका विभिन्न जेलमा ३५ जना छन्। ओमानका जेलमा पनि ३ जना नेपाली छन्।

 

सरकारको सक्रियता

मृत्युदण्डको सजाय सुनाइएकालाई बचाउन सरकारबाट ठोस पहल नभएको कतिपयको गुनासो छ। तर, विदेशका जेलमा रहेका श्रमिकको समस्याका आधारमा सरकारले कानुनी सहायताका लागि पहल गर्दै आएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड सचिवालयको दाबी छ।

बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेती भन्छन्, ‘‘जेलमा परेका श्रमिकको अवस्था र कस्ता मुद्दा छन् भनेर सरकारले कूटनीतिक नियोगमार्फत परामर्श गर्ने गर्छ। सम्बन्धित देशमा सरकारलाई आग्रह गरेर छुटाउन पहल गर्दै आएका छौँ।’’

नेपालले विदेशी जेलमा रहेका नागरिकको जीवनरक्षाका लागि सबै तह र तप्कामा क्षमादानका लागि अनुरोध गर्दै आएको परराष्ट्र मन्त्रालयको दाबी छ।

प्रवक्ता सेवा लम्साल भन्छिन्, ‘‘ नेपाली श्रमिकको जीवनरक्षाका लागि सम्भव भएसम्मका सबै पहल गर्दै आएका छौँ। मृत्युदण्डको सजाय पाएकालाई क्षमा दिन पत्र पठाउने गरेका छौँ। कतिपय प्रयास सफल भएका छन्। कतिपय प्रयास सफल भएनन्।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved