को बन्ला बेलायतको नयाँ प्रधानमन्त्री ?

नयाँ नेताको चुनावका लागि सत्तारुढ दलले गत जुलाईमा भएजस्तै लामो प्रक्रिया अपनाइनुको साटो यसपटक छोटो प्रक्रिया निर्धारण गरेको छ । संसदीय दलमा सबैभन्दा धेरै समर्थन प्राप्त गर्ने दुई नेताबीच सीधै चुनाव हुन सक्ने सम्भावना छ । कम्तीमा १०० जना सांसदको समर्थन जुटाउन सक्ने नेता मात्रै सम्भावित उम्मेदवार मानिने छ।

नेपालभ्युज

को बन्ला बेलायतको नयाँ प्रधानमन्त्री ?

नेपाल भ्युज। प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएपछि बेलायतको नयाँ प्रधानमन्त्री को होला भन्ने जिज्ञासा उत्पन्न भएको छ । प्रधानमन्त्री बनेको ४५ दिनमै लिज ट्रसले राजीनामा गरेकी थिइन् ।

राजीनामाको अघिल्लो दिन संसदमा बोल्दै उनले ‘समस्यादेखि भाग्ने हैन, जुझ्न आएकी हुँ’ भन्दै साहस र धैर्यता प्रदर्शन गर्न खोजेकी थिइन । तर, उनी टिक्न सकिनन् । बेलायतको इतिहासमा उनी सबैभन्दा थोरै समयको कार्यकाल भएकी प्रधानमन्त्री भएकी छन्। यसअघि, सन् १८२७ मा जर्ज क्यानिङ ११९ दिनका लागि प्रधानमन्त्री भएका थिए । पदमा रहँदै उनको असामयिक निधन भएको थियो ।

प्रधानमन्त्री ट्रसको राजीनामाले बेलायतको राजनीतिक संकटलाई झनै गहिरो बनाएको छ । ब्रेक्जिट र कभिड–१९ पछि बेलायतको आर्थिक स्थिति सन्तोषजनक छैन । त्यससँगै राजनीतिक संकट जोडिएर आएको छ । ट्रसको राजीनामा उनको व्यक्तिगत मात्र नभएर सत्तारुढ कन्जर्भेटिभ पार्टीकै असक्षमता, नालायकी र नेतृत्वहीनताको परिचायक मान्न थालिएको छ । विपक्षी लेवर पार्टीले मध्यावधी चुनावको मागसमेत गरेको छ ।

ट्रसले राजीनामा दिँदै आफू जुन म्यान्डेडमा जे काम गर्न भनेर निर्वाचित भएको हो, त्यो गर्न नसकेको बताएकी थिइन् । ट्रस ‘कर कम र तीव्र वृद्धि’ को आर्थिक नीति पक्षधर थिइन् । युक्रेन युद्धले ल्याएको युरोपेली उर्जा तथा खाद्य संकट, महंगी र मुद्रास्फितिको मारले गर्दा ट्रसले आफ्ना आर्थिक नीतिलाई कार्यान्वयन गर्न सकिनन् ।

बेलायतमा कन्जर्भेटिभ पार्टी खुल्ला बजार अर्थतन्त्र संचालन गर्न दक्ष मान्ने गरिन्थ्यो । ट्रसले कर घटाएर नागरिकको व्यक्तिगत बचत र सरकारी अनुदान बढाउने नीति लागू गर्न चाहेकी थिइन । त्यसो गर्न सकेको भए नागरिकको जीवन केही सहज अवश्य हुन्थ्यो तर, सरकारको बजेट घाटा भने झनै बढ्ने थियो ।

सरकारले सार्वजनिक ऋणपत्रबाट त्यस्तो घाटा पूरा गर्नु पर्ने हुन्थ्यो तर सरकारी ऋणपत्रको विश्वासनीयता भने कमजोर भएको थियो । फलतः अर्थतन्त्रको असन्तुलन झनै बढ्दै गयो । चर्को महंगी, बैंक ब्याजदर र मुद्रा स्फितिको कारणले ट्रस छोटो समयमै अलोकप्रिय हुन थालेकी थिइन् ।

ट्रस सरकारका अर्थमन्त्री क्वासी क्वार्टेङले चालेका कदमबाट अर्थतन्त्रका समस्या झनै गहिरो र जटिल हुँदै गए । त्यसपछि गत हप्ता ट्रसले क्वार्टेङलाई बर्खास्त गरी जेरेमी हन्टलाई नयाँ अर्थमन्त्री नियुक्त गरेकी थिइन्। सन् २०१६ मा ब्रेक्जिटको विजयपछि डेविड म्यामरुनले राजीनामा गरेका थिए । त्यसयता, बेलायती अर्थतन्त्र र कन्जर्भेटिभ पार्टी स्थिर हुन सकेको छैन । डेविड म्यामरुनपछि तीनपटक प्रधानमन्त्री बद्लिएका छन्।

कन्जर्भेटिभ पार्टीको नेतृत्व दौडमा ट्रसका प्रतिस्पर्धी भारतीय मूलका नेता ऋषि सुनक थिए । उनले चुनावी दौडमा कर कटौती गर्न नहुने बताउँदै आएका थिए । सुनकलाई पराजित गर्दै ट्रस विजय भएकी थिइन् । सुनक बोरिस जोनसन कार्यकालमा सफल अर्थमन्त्री मानिएका थिए ।

नयाँ प्रधानमन्त्रीका लागि पुनश्च बोरिस जोनसन र ऋषि सुनकको नाम चर्चा गर्न थालिएको छ । नयाँ नेताको चुनावका लागि सत्तारुढ दलले गत जुलाईमा भएजस्तै लामो प्रक्रिया अपनाइनुको साटो यसपटक छोटो प्रक्रिया निर्धारण गरेको छ । संसदीय दलमा सबैभन्दा धेरै समर्थन प्राप्त गर्ने दुई नेताबीच सीधै चुनाव हुन सक्ने सम्भावना छ ।

कम्तीमा १०० जना सांसदको समर्थन जुटाउन सक्ने नेता मात्रै सम्भावित उम्मेदवार मानिने छ। यस्तो सम्भावना अहिलेसम्म बोरिस जोनसन र ऋषि सुनकसँग मात्र रहेको बेलायती सञ्चार माध्यमले दाबी गरेका छन् । उम्मेदवारी दाबी गर्न सकिने समय सोमबार २४ अक्टोबरसम्म तोकिएको छ।

आर्थिक नीति निर्धारण र अर्थतन्त्रको सञ्चालनका लागि सुनक बढी दक्ष मानिन्छन् । तर, कन्जर्भेटिभ पार्टीको तल्लो पंक्तिले भारतीय मुलका सुनकलाई स्वीकार गरेको थिएन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved