काठमाडौं। सहमति कार्यान्वयन नगरेको भन्दै नेकपा एमाले डडेल्धुराले नेपाली कांग्रेस (वीपी) सँगको चुनावी तालमेल तोडेको छ।
एमालेले प्रेस विज्ञप्ति जारी गरी डडेल्धुरामा कांग्रेस (वीपी) सँगको चुनावी गठबन्धन भंग गरेको जनाएको हो।
वीपी कांग्रेसले सहमतिविपरीत प्रदेशसभा २ मा एमाले उम्मेदवारलाई नभई स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेकाले चुनावी तालमेल भंग गरिएको एमाले डडेल्धुराका जिल्ला अध्यक्ष प्रकाशबहादुर साउदद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। जिल्ला कमिटीको शुक्रबार बसेको पूर्ण बैठकले तालमेल भंग गर्ने निर्णय गरेको अध्यक्ष साउदले बताए।
प्रतिनिधिसभामा वीपी कांग्रेसका वरिष्ठ उपाध्यक्षसमेत रहेका कर्णबहादुर मल्ल र प्रदेशसभा १ मा एमालेका उम्मेदवार पठानसिंह बोहरा तथा प्रदेशसभा २ मा एमालेकै गजेन्द्र शाहीलाई समर्थन गर्ने गरी एमाले र वीपी कांग्रेसबीच सहमति भएको थियो।
वीपी कांग्रेसले एकतर्फी रूपमा सम्झौता उल्लंघन गरेकाले तालमेल भंग गरिएको विज्ञप्तिमा उल्लेख छ। यसअघि वीपी कांग्रेससँग तालमेल गर्नकै लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गराएका चक्रप्रसाद स्नेहीको उम्मेदवारी फिर्ता गराएका थिए।
स्नेही राष्ट्रियसभाको ४ वर्षे कार्यकाल पूरा गरेका नेतासमेत हुन्। प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित ८ जना उम्मेदवार छन्। दुईवटा क्षेत्र रहेको प्रदेशसभामा १२ जनाको उम्मेदवारी छ।

Facebook Comment
Comment