काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमिएर लिग (एनपीएल) दोस्रो सिजन रोक्ने गरी भइरहेको गतिविधिप्रति आपत्ति जनाउँदै अनावश्यक राजनीति नगर्न खेलकुदमन्त्री तेजुलाल चौधरीलाई निर्देशन दिएका छन् । ललितपुरको सातदोबाटोमा स्पोर्ट्स साइन्स ल्याबको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले खेलकुदभित्र राजनीति नगर्न र यस क्षेत्रको विकासमा ध्यान दिन मन्त्री चौधरीलाई निर्देशन दिएका हुन् ।
आफूले जिम्मेवारी लिएको क्षेत्रमा विकासका लागि मन्त्री केन्द्रित हुनुपर्ने प्रधानमन्त्रीको निर्देशन छ । खेलकुद क्षेत्र राजनीति गर्ने ठाउँ नभएको भन्दै उनले भनेका छन्, ‘ सरकारमा आएपछि जुन क्षेत्रको विकास गर्ने हो त्यसका लागि केन्द्रित हुने हो । त्यहाँ राजनीति गर्नुभएन ।’
एनपीएल प्रथम संस्करणको हिसाबकिताब पारदर्शी नभएको भन्दै प्रश्न उठेको थियो । विदेशी खेलाडीको भुक्तानी र ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ । उजुरीपछि आन्तरिक छानबिनका लागि भन्दै मन्त्री चौधरीले राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य रञ्जना प्रधानको संयोजकत्वमा कार्यदल गठन गरेका थिए । उक्त कार्यदले राखेपको लेटरप्याडबाट नेपाल क्रिकेट संघलाई अख्तियारको छानबिन नटुंगिदासम्म एनपीएल दोस्रो संस्करण अघि नबढाउन निर्देशन दिएको थियो ।
प्रधानमन्त्री ओलीले एनपीएल राष्ट्रको गौरवका रूपमा स्थापित भइरहेकाले यसमा राजनीति नगर्न मन्त्री चौधरीलाई निर्देशन दिएका छन् । उनले नेपाल क्रिकेट संघलाई एनपीएल दोस्रो संस्करणको भव्य तयारी गर्नसमेत निर्देशन दिएका छन् ।
‘एनपीएलको भव्य तयारी गर्नुस् । यो हाम्रो नेसशनल प्राइड हो । यसलाई राष्ट्रियस्तरमा बढाउनुपर्छ । जसरी क्रिकेटको क्रेज बढेको छ, देशमा त्यसरी नै एनपीएललाई अगाडि लैजानुपर्छ । यसको आयोजना गर्नुस्,’ प्रधानमन्त्रीको निर्देशन छ ।
प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशमा हुने भनिएको राष्ट्रिय खेलकुद पटक–पटक सारिएकोमा पनि आपत्ति जनाएका छन् । आगामी मंसिरमा जसरी पनि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न उनले निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले त्रिवि क्रिकेट मैदानलाई सुविधासम्पन्न बनाउनुका साथै अझै विस्तार गर्ने बताए ।
Facebook Comment
Comment