भोटेकोशीमा बाढी ल्याउने सुप्राग्लेशियल ताल के हो ?

नेपालभ्युज

भोटेकोशीमा बाढी ल्याउने सुप्राग्लेशियल ताल के हो ?

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा सुप्राग्लेशियल ताल फुटेर बाढी आएको विज्ञहरुले बताएका छन् । स्याटेलाइट तस्वीरहरूको अध्ययन गर्दै विज्ञहरुले सुप्राग्लेशियल ताल विस्फोट हुँदा बाढी आएको बताएका छन् ।

चीनको गाओफेन स्याटेलाइटबाट प्राप्त तस्वीरअनुसार भोटेकोशीको जलाधार क्षेत्रमा रहेको हिमनदीमा ताल बनेको र उक्त ताल विस्फोट भएपछि नदीमा पानीको सहत बढेर बाढी आएको देखिन्छ ।

चीनको चाइनिज एकेडेमी अफ साइन्समा पीचएडी अध्ययनरत नितेश खड्काको विश्लेषण अनुसार सुप्राग्लेशियल तालहरू हिमनदीसँगै बग्ने अस्थायी प्रकृतिका हुन्छन् । यी तालहरु कहिले हिमनदीले छोपिन्छन त कहिले सतहमा आउँछन् ।

सुप्राग्लेशियल ताल भनेको के हो ?

‘Supraglacial’ भन्ने शब्दले नै “ग्लेशियरको माथि” भन्ने जनाउँछ । supra अर्थ माथि र glacial मतलब ग्लेशियर । सुपरग्लेशियल ताल हिमनदीमाथि बन्ने ताल हो । यो विशेष गरी मलबा ढाकिएका क्षेत्रहरूमा बन्छ । यी तालहरू बरफ पग्लेर बन्ने साना पानीका पोखरीबाट सुरु हुन्छन् र विस्तार हुँदै कहिलेकाहीँ ठूला तालहरूमा परिणत हुन्छन् ।

जब यस्ता तालहरू अचानक फुट्छन्, तब ठूलो मात्रामा पानी एकैचोटि तलतिर बग्छ, जसलाई GLOF (Glacial Lake Outburst Flood) भनिन्छ । यस्ता बाढीहरू सामान्य बाढीभन्दा धेरै विनाशकारी हुन्छन् ।

यी तालहरु अत्यधिक गतिशील र क्षणिक हुन्छन् । यी तालहरूको पहिचान धेरै हदसम्म उपग्रह चित्रणको स्थानिय रिजोल्युसनमा निर्भर गर्दछ ।

ल्यान्डस्याट र सेन्टिनेल-२ जस्ता स्वतन्त्र रूपमा उपलब्ध उपग्रह डेटाको रिजोल्युसनमा सीमित रिजोल्युसनको हुन्छ र सामान्यतया निश्चित आकारको थ्रेसहोल्डभन्दा माथिका तालहरू मात्र पहिचान गर्न सक्छ, सम्भावित रूपमा साना वा अल्पकालीन जल निकायहरू हराउँछन् ।

सन् २०२४ को डिसेम्बरमा बनेको सानो पोखरी २०२५ को जुनमा उल्लेखनीय रूपमा विस्तार भएको थियो । त्यसकै निकासले योपटक रसुवामा बाढी निम्त्याएको इसिमोडले जनाएको छ ।

तापक्रमको भूमिका

तापक्रम वृद्धिले हिमनदीजन्य बाढीको सम्भावनामा दुई तरिकाले असर पार्छ । दीर्घकालीन तापक्रम वृद्धिले हिमनदी तालहरूको विस्तार र निर्माणमा वृद्धि गर्छ ।

छोटो अवधिको अत्यधिक तापक्रमका कारण हिमपहिरो, चट्टान खस्ने, पर्माफ्रोस्ट (सधैँ जमेका जमिन) पग्लनेजस्ता अकस्मात् घटनालाई ट्रिगर गर्छ । यस्ता घटनाबाट उत्पन्न हुने ढुंगामाटाको गेग्रानले भरिएको बाढी साधारण पानीको बाढीभन्दा धेरै विनाशकारी हुन्छ ।

हालका घटनामा बाढीमा ठूलो मात्रामा गेग्रान मिसिएको छ । त्यसबाट तल्लो क्षेत्रमा गम्भीर क्षति पुगेको छ । पर्माफ्रोस्ट पग्लँदा भू-सतह अस्थिर भई बाढीले सजिलै कटान गर्छ । पेरिग्लेसियल क्षेत्रमा हिउँको सट्टा वर्षा बढेपछि बहाव र कटान अझ तीव्र हुन्छ ।

विज्ञको चिन्ता

२१औं शताब्दीको अन्त्यसम्म हिन्दुकुश हिमालय क्षेत्रमा हिमताल फुटेर आउने बाढीको जोखिम हालको तुलनामा तीन गुणा बढ्ने अनुमान छ ।

इसिमोडका आपत्कालीन जोखिम न्यूनीकरण प्रमुख सस्वता सन्याल भन्छन्, “हिन्दुकुश हिमालय क्षेत्रमा यस्ता घटनाको तीव्रता पूर्ण रूपमा अभूतपूर्व छ । हामीले यस्ता घटनाहरूको कारण (ट्रिगर) र क्रमिक असरहरू (क्यास्केडिङ इफेक्ट्स)लाई गहिरो रूपमा अध्ययन गर्नुपर्ने आवश्यकता छ ।”

इसिमोडले सन् १९८५ देखि हिमनदी ताल र हिमनदीजन्य जोखिमको नक्सांकन तथा अनुगमन गर्दै आएको छ । यसले नेपालको खुम्बु क्षेत्रमा डिग छो ताल फुट्दा माइक्रो–हाइड्रो ध्वस्त भएर करिब ३० लाख अमेरिकी डलरबराबरको क्षति भएको उल्लेख गरेको छ ।

इसिमोडले मेलम्ची, वीरेन्द्र ताल, हुम्ला, चमोली र भारतको सिक्किमको साउथ ल्होनाकजस्ता संकटग्रस्त स्थानमा पनि जोखिम मूल्यांकन गरिसकेको छ ।

विज्ञका अनुसार पहिले साना र लुकेका, अस्तित्वमै थाहा नपाइने तालहरूले हाल ठूलो विनाश निम्त्याइरहेका छन् । इसिमोडले दशकौँदेखि तालहरूको जोखिम नक्सांकन गर्दै आएको छ, जसमा ०.०२ वर्गकिलोमिटरभन्दा ठूला तथा मोरेन–बाँधयुक्त तालहरूलाई प्राथमिकता दिएको थियो ।

नेपालमा यस्ता खतरनाक ताल २१, चीनको तिब्बतमा २५ र भारतमा एउटा छन् । २००० को दशकमा विज्ञहरूले हिन्दुकुश हिमालय क्षेत्रमा प्रत्येक ५ देखि १० वर्षमा एक पटक हिमनदी उत्पत्तिको बाढी आउने अनुमान गरेका थिए ।

इसिमोडबाट

सम्बन्धित सामग्री – 

फ्ल्यास फ्लड के हो, किन खतरनाक हुन्छ ?

स्याटेलाइट तस्वीर विश्लेषण : तिब्बतमा ताल फुट्दा भोटेकोशीमा बाढी

अन्तर्देशीय पूर्वसूचना प्रणालीमा कमजोर नेपाल : बाढी पूर्वानुमान गर्न किन चुक्छ ?

पानी नपरीकनै रसुवामा कसरी आयो ठूलो बाढी ?

तिब्बतमा पहिरो, नेपालमा बाढी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved