काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले देशव्यापी उत्पीडित र अल्पसंख्यक समुदायलाई समेटेर हालै गठन गरेको केन्द्रीय परिसंघ (डोटिम) ले राजधानीमा बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछ ।
यही शनिबार मध्याह्न १२ बजे डिल्लीबजार कालिकास्थानको अमृतभोग पार्टी प्यालेसमा डोटिमले देशका सबै सीमान्तकृत, अल्पसंख्यक, उत्पीडित समुदायको सहभागितामा बृहत् अन्तरक्रिया गर्न लागेको पार्टी अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जनाएको छ ।
प्रमुख वक्तारहेका अध्यक्ष यादवले उक्त कार्यक्रमको उद्घाटन गर्नेछन् । दलित, पिछडावर्ग, थारु, आदिवासी, मुस्लिम अल्पसंख्यक गरी सबै उत्पीडित समुदायलाई समेटेर गठन गरिएको केन्द्रीय परिसंघको प्रत्येक क्लष्टरबाट एक–एक वक्ता रहेका छन् ।
कार्यक्रममा दलित, थारु, महिला, आदिवासी जनजाति, पिछडावर्ग, मुस्लिम र अल्पसंख्यक समुदायसँग सम्बन्धित नेतृत्व, संघसंस्था तथा व्यक्तित्वहरूको सक्रिय सहभागिता रहने जनाइएको छ ।
जसपा नेपालले नागरिक अधिकार, समानता, स्वतन्त्रता र सामाजिक न्यायको प्राप्ति, आर्थिक, सामाजिक–साँस्कृतिक भेद्भाव, असमानता र उपेक्षाको अन्त्यका लागि संयुक्त संघर्ष गर्ने उद्देश्यले केन्द्रीय परिसंघको ब्यानरमा बृहत् अन्तरक्रियाको आयोजना गरिएको बताइएको छ ।
केन्द्रीय परिसंघले हालै सार्वजनिक गरेको अवधारणा पत्रमा दलित, आदिवासी जनजाति, पिछडावर्ग, थारु, मुस्लिम, अल्पसंख्यक समुदाय र महिलामाथि भइरहेको आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक र राजनीतिक असमानता, विभेद, शोषण र उत्पीडन अन्त्यका लागि संयुक्त रुपमा संघर्ष गर्ने उल्लेख गरिएको छ ।
सीमान्तकृत उत्पीडित समुदायहरूको राष्ट्रिय पहिचानको मान्यता, जनसंख्याका आधारमा प्रतिनिधित्व, मानव अधिकारको प्रत्याभूति, सबैलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, समानता र सामाजिक न्याय सुनिश्चित गर्न देशव्यापी संघर्षमा उत्रिने जनाएको छ ।
Facebook Comment
Comment