टी-२० विश्वकप छनोट : नेपालको पहिलो प्रतिद्वन्द्वी कुवेत

नेपालभ्युज

टी-२० विश्वकप छनोट : नेपालको पहिलो प्रतिद्वन्द्वी कुवेत
तस्वीर स्रोत - क्यान

काठमाडौं । ओमानमा हुने पुरुष आईसीसी टी–२० विश्वकप एसिया र पूर्वी एसिया–प्यासिफिक छनोट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ ।

८ अक्टोबरदेखि सुरु हुने छनोटमा नेपाल समूह-२ मा परेको छ । नेपालसँगै जापान र कुवेत पनि उक्त समूहमा रहेका छन् ।

समूह-१ मा यूएई, मलेसिया र कतार तथा समूह-३ मा ओमान, पपुवा न्यूगिनी पीएनजी (पीएनजी) र सामोआ छन् ।

नेपालले अक्टोबर ८ मा आफ्नो पहिलो खेल कुवेतसँग खेल्नेछ । अक्टोबर १० मा नेपालले जापानसँग प्रतिस्पर्धा गर्नेछ ।

८ देखि १० अक्टोबरसम्म समूह चरणका खेल सकिएपछि १२ देखि १७ अक्टोबरसम्म सुपर सिक्स चरणका खेलहरु हुनेछन् । प्रत्येक समूहबाट शीर्ष दुई टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् ।

सन् २०२४ का उपक्षेत्रीय छनोटहरूबाट आएका कुवेत, मलेसिया, यूएई, कतार, जापान र सामोआका टोलीहरू नेपाल, पपुवा न्यूगिनी र आयोजक ओमानसँग भिड्नेछन् ।

सुपर सिक्सको शीर्ष तीन टोलीले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा स्थान बनाउनेछन् । सन् २०२६ मा टी–२० विश्वकप भारत र श्रीलंकामा आयोजना हुँदैछ ।

खेल तालिका –

अक्टोबर ८-

ओमान भर्सेस सामोआ
यूएई भर्सेस कतार
नेपाल भर्सेस कुवेत

अक्टोबर ९-

मलेसिया भर्सेस कतार
कुवेत भर्सेस जापान
पीएनजी भर्सेस सामोआ

अक्टोबर १०-

यूएई भर्सेस मलेसिया
नेपाल भर्सेस जापान
ओमान भर्सेस पीएनजी

यस्तै, पूर्वी एसिया–प्यासिफिक क्षेत्रका महिला टोलीहरूको टी–२० विश्वकप २०२६ यात्रा पनि सुरु हुँदैछ, जसको छनोट प्रतियोगिता आगामी सेप्टेम्बरमा हुने तय भएको छ ।

आईसीसी महिला टी–२० विश्वकप ईएपी छनोट प्रतियोगिता सेप्टेम्बर ९ देखि १५ सम्म फिजीको सुवा शहरमा आयोजना हुनेछ । आयोजक फिजीले भानुआतु, पीएनजी, इन्डोनेसिया, जापान, सामोआ, कुक आइल्यान्ड्स र फिलिपिन्स टोलीहरूलाई स्वागत गर्नेछ ।

टोलीहरूलाई दुईवटा समूहमा विभाजन गरिनेछ, प्रत्येक समूहमा चार टोली र अन्तिम खेलमा विजेता टोलीले आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताका लागि छनोट हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved