रूसले तीन वर्षमा जफत गर्‍यो ५० अर्ब डलरको सम्पत्ति

नेपालभ्युज

रूसले तीन वर्षमा जफत गर्‍यो ५० अर्ब डलरको सम्पत्ति
तस्वीर स्रोत - रोड्स एण्ड किङडम्स्

काठमाडौं । युक्रेनमाथि आक्रमणपछि आर्थिक आत्मनिर्भरता र सुरक्षालाई प्राथमिकता दिँदै रूसले पछिल्ला तीन वर्षमा ५० अर्ब अमेरिकी डलरभन्दा बढी मूल्य बराबरको सम्पत्ति नियन्त्रणमा लिएको एक प्रतिवेदनले देखाएको छ ।

यो रणनीतिक अभियानलाई राष्ट्रपति भ्लादिमिर पुटिनले ‘फोर्ट्रेस रसिया’ (अर्थात् दुर्गजस्तो सुदृढ रूस) मोडेलको रूपमा अगाडि सारेका हुन् ।

रूसले युद्धपछिको समयलाई आर्थिक संरचना पुनःगठन गर्ने अवसरको रूपमा प्रयोग गरेको छ । पश्चिमी मुलुकहरूसँगको सम्बन्ध चिसिँदै जाँदा रूसी सरकारले विदेशी कम्पनीहरूका सम्पत्ति जफत गर्दै घरेलु स्वामित्वमा ल्याएको हो ।

युद्ध सुरु भएयता सयौं बहुराष्ट्रिय कम्पनीहरू रूसबाट पलायन भइरहेका छन् । जर्मन उर्जाप्रदायक युनिपर, ड्यानमार्कको बियर उत्पादक कर्ल्सबर्ग, अमेरिकी कम्पनी म्याकडोनाल्ड्सदेखि लिएर जर्मनीको मर्सिडिज बेन्जजस्ता प्रतिष्ठित ब्रान्डहरू पनि त्यसमा पर्छन् । कतिपय कम्पनीहरूले आफ्ना व्यवसाय स्थानीय व्यवस्थापनलाई सुम्पिए भने केहीले पूर्ण रूपमा सम्पत्ति त्यागे ।

पुटिनले ‘पश्चिमले अवैध कदम चालेको’ भन्दै त्यसको प्रत्युत्तरमा विदेशी सम्पत्ति जफत गर्नेसम्बन्धी कानुनी अधिकार दिने आदेशहरू पटक–पटक जारी गरेका छन् ।

विदेशी कम्पनीहरू मात्र होइन, रूसी भित्रिय व्यवसायीहरूको पनि सम्पत्ति सरकारले विभिन्न कानुनी आधारमा कब्जा गर्दै आएको छ । रणनीतिक स्रोत आवश्यकतादेखि लिएर भ्रष्टाचारको आरोप, निजीकरणको उल्लंघन वा अयोग्य व्यवस्थापनजस्ता कारण देखाउँदै सरकारले सयौं घरेलु कम्पनीहरूको स्वामित्व लिएको छ ।

मस्कोस्थित कानुनी संस्था नेकतोरोभ, साभेलिएभ एण्ड पार्टनर्स (NSP) का अनुसार पछिल्लो तीन वर्षमा मात्र राज्यले जफत गरेको सम्पत्तिको मूल्य करिब ३.९ ट्रिलियन रूबल (झण्डै ५० अर्ब अमेरिकी डलर) पुगेको छ ।

रूसी अधिकारीहरूले यो प्रक्रिया रूसको आर्थिक र सुरक्षा हितमा भएको दाबी गरेका छन् । पुटिनले पुरानो ‘विश्वव्यापीकरण’ मोडल असफल भइसकेको बताउँदै नयाँ आर्थिक मोडल आवश्यक भएको बताएका छन्, जहाँ आत्मनिर्भरता, घरेलु उत्पादन र राज्यको नियन्त्रण प्राथमिकतामा छन् ।

तर, आलोचकहरू भन्छन्, “युद्धकालीन अर्थतन्त्रले उत्पादन क्षमतालाई सैन्य उद्देश्यतर्फ मोडिदिएको छ, जसले दीर्घकालीन आर्थिक विकासको सम्भावनामा जोखिम थपेको छ । विदेशी लगानी र प्रविधि अभावको मार अब रूसी व्यवसायले खप्नु परिरहेको छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved