काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले केन्द्रीय अनुशासन समितिले गरेको कारबाही पक्षपात, गुटप्रेरित र एक समूहलाई पाखा लगाउने उद्देश्यले भएको निष्कर्ष निकालेको छ ।
बिहीबार बिहानमा बसेको कोइराला पक्षको बैठकले सो निष्कर्ष निकालेको हो ।
अनुशासन समितिको असार ९ देखि १७ गतेसम्म बसेको बैठकले लुम्बिनी महामन्त्री, गण्डकीका पूर्वमन्त्री र खोटाङ सभापतिसहित १८ जनामाथि अनुशासन कारबाहीको निर्णय गरेको थियो । यो निर्णय हुँदा पार्टीको केन्द्रीय कार्यसमिति बैठक पनि चलिरहेको थियो । कारबाहीमा पर्ने अधिकाशं नेता कोइराला पक्षका थिए ।
त्यसबारे छलफल गर्न बसेकाे बैठकपछि एक नेताले भने, “पार्टीको विधानअनुसार कुनै पनि सदस्यमाथि उजुरी परेको ६ महिनाभित्र अनुसन्धानको कारबाही भइसक्नुपर्छ । तर, अढाई वर्षपछि कारबाही भएको छ । यो कारबाही नै अवैधानिक छ । यो पक्षपातपूर्ण छ । यो गुटप्रेरित छ । पार्टीमा अर्को पक्षलाई पाखा लगाउने उद्देश्यले गरिएको छ । अर्को यो बहुमतको आधारमा गरिएको छ । अनुसन्धान समितिमा रहेका ५ जनामध्ये दुई जनाले नोट अफ डिसेन्ट लेखेका छन् ।”
सभापति, उपसभापति, महामन्त्रीबीच अहिले कारबाहीको प्रक्रिया अघि नबढाउने सहमति भएको ती नेता बताउँछन् । “केन्द्रीय समितिको बैठकपछि सभापति, उपसभापति, महामन्त्रीबीच बैठक बसेर अहिले कारबाहीको निर्णय बाहिर नल्याउने र प्रक्रिया अघि नबढाउने सहमति भएको छ,” उनले भने ।
साथै, शेखरलगायत नेताले यसबारे सभापति शेरबहादुर देउवासँग छलफल गर्नेसमेत बैठकले निष्कर्ष निकालेको छ । “शालिन रुपमा कारबाहीको निर्णयको प्रतिवाद गर्नेछौँ,” ती नेताले भने ।
Facebook Comment
Comment