काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डको सार्वजनिक भएको पछिल्लो अन्तर्वार्ताबारे स्पष्टीकरण दिएको छ । वाइल्डले एन्फा नसुध्रिए आफू नेपाल नफर्किने बताएका थिए ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार पत्रकार सम्मेलन गरी एफसी महिला एसिया कप छनोटमा गएका टिम पदाधिकारीहरुले आफ्नो धाराणा राखेका हुन् । उज्वेकिस्तान जानुअगाडि र खेल्ने क्रममा भएको घटानबारे टिमका सदस्यहरुले प्रस्टाए ।
बिदाइ कार्यक्रममा नै कप्तान घोषणा गर्न मुख्य प्रशिक्षकलाई आग्रह गर्दा उनले अस्वीकार गरेको एन्फा कार्यसमिति सदस्य सरिला श्रेष्ठ मलेकुले बताइन् । उनले भनिन्, ‘हामीले हाम्रो मुख्य प्रशिक्षकलाई बिदाइ कार्यक्रममा नै कप्तान राखेर जाऔँ भनेका थियौँ । तर, उनले ‘अहिले नगर्ने’ भनेका थिए । मुख्य प्रशिक्षकले अन द स्पटमा नै गर्ने भनेका थिए ।’ कप्तान नबनाएर टोली उज्वेविकस्तान पुग्दा एन्फा र प्रमुख प्रशिक्षकबीच तनाव भएको थियो । एन्फाले रेनुकालाई कप्तान घोषणा गरेको केही मिनेटमै प्रमुख प्रशिक्षकले भने सावित्रा भण्डारी (साम्बा) लाई कप्तान बनाएर मैदान छिराएका थिए ।
खेल सुरु हुनु ९० मिनेटअगाडि खेलाडीको लिस्ट बुझाउनुपर्ने भए पनि एन्फालाई नै मुख्य प्रशिक्षकले लिस्ट नदिएको मलेकुले बताइन् ।
‘हामीले सार्वजनिक गर्छ भनेर उनले ९० मिनेट अगाडि लिस्ट दिन नमिल्ने बताए । त्यसपछि हामीले हरि खड्का दाईलाई पनि फोन ग¥यौँ । उनले नेम लिस्ट दिनु भएन,’ सदस्य श्रेष्ठले भनिन्, ‘म्याच कमिस्नरले भने नेम लिस्ट मागिरहेका थिए । ९० मिनेट हुन ५ मिनेट बाँकी हुँदा उहाँले हामीलाई सुरुवाती ११ को भिडिओ देखाउनुभयो । त्यही फोटो खिचेर नेम लिस्ट दिनु भनेर मुख्य प्रशिक्षकले भनेका थिए । जसमा कप्तान को हो भनेर पनि खुलेको थिएन ।’
फिल्डमा इन्ट्री हुने बेला म्याच कमिस्नर कुरेर बसेकोले सिनियर रेनुका नगरकोटी लिस्ट पास गर्न गएकाले नै उनकै नाम कप्तान भनेर बुझाएको श्रेष्ठले बताइन् ।
खेलाडीहरु टनेलमा प्रवेश गर्ने बेला मात्र मुख्य प्रशिक्षकले साम्बालाई कप्तान भएको घोषणा गरेको श्रेष्ठले बताइन् । ‘बिन्द्रा म्यामले रेनुकालाई आर्म ब्याण्ड लगाउने बेला मात्रै कप्तान सावित्रा भण्डारी साम्बा भएको प्रशिक्षक वाइल्डले बताएका थिए,’ श्रेष्ठले भनिन् ।
प्रधानमन्त्रीसँगको भिडिओ कलबारे निर्णय पनि मुख्य प्रशिक्षकको स्वीकृतिमा नै भएको उनले बताइन् । टिम मेम्बरहरुसँग सबै कुरा सस्पेन्स राखेर सम्पूर्ण निर्णय आफैँ लिएर मुख्य प्रशिक्षक अगाडि बढिरहेको उनले दाबी गरिन् ।
विभिन्न प्राविधिक सामग्रीबारे गरेको गुनासोमा सबै उपलब्धता बुझाएर नै उनलाई नियुक्ति गरिएको एन्फा प्राविधिक निर्देशक हरि खड्काले बताए । यद्यपि, आवश्यक पर्ने सामाग्रीका लागि पहाल भएको पनि उनले बताए ।
एक वर्षको सम्झौतामा आफ्नो सपोर्ट टिम नल्याउने तर स्थानीय टिमसँगै काम गर्न स्वयम् मुख्य प्रशिक्षकले बताएको निर्देशक खड्काले बताए ।
दुई खेल बाँकी हुँदा सबै घटनाबारे प्रशिक्षकले एउटा पत्र पठाएको निर्देशक खड्काले बताए । आगामी दिनमा कप्तान फेरिन्छ वा फेरिन्न भन्ने प्रशिक्षकमा निर्भर पर्ने उनले बताए । टिम व्यवास्थापनमा कमी कमजोरी भएको स्वीकार्दै त्यसलाई सुधार गर्दै लैजाने निर्देशक खड्काले बताए ।
मंगलबार प्याट्रिक डि वाइल्डको एक अन्तर्वार्ता सार्वजनिक भएपछि व्यवस्थापनलाई लिएर एन्फाको आलोचना भएको थियो । त्यसैबारे प्रस्ट्याउन एन्फाले पत्रकार सम्मेलन आयोजना गरेको थियो ।
Facebook Comment
Comment