काठमाडाै। फ्ल्यास फ्लड (आकस्मिक बाढी) त्यस्तो बाढी हो, जुन अचानक आउँछ र सामान्यतया सुक्खा जमिनलाई केही मिनेटमै डुबाइदिन्छ । यो खतरनाक हुने कारण धेरै छन् । जस्तै, छोटो समयमा धेरै पानी पर्नु, बाँध वा तटबन्ध फुट्नु, हिउँ छिट्टै पग्लनु, वा पहिरोले नदी थुनिएर फुट्दा यस्तो बाढी आउँछ ।
सामान्यतया बाढीहरू बिस्तारै, घण्टौँ वा दिनौँ लगाएर आउँछन् । यस्ता बाढीले मानिसहरूलाई सुरक्षित ठाउँमा जान र तयारी गर्न समय दिन्छ । तर, फ्ल्यास फ्लड यति छिटो र शक्तिशाली हुन्छ कि शान्त खोल्सा वा सुक्खा नाला पनि केही मिनेटमै भयानक खोलामा बदलिन्छन् । यो बाढीले बाटोमा जे भेट्छ, सबै बगाउँछ—घर, गाडी, रुख, बिजुलीका खम्बाहरू, सबै ध्वस्त पार्छ । यो बाढी केही मिनेटदेखि ६ घण्टासम्म रहन सक्छ । भारी वर्षा, भिरालो जमिन, वा चट्टानी माटो भएको ठाउँमा यो झनै खतरनाक हुन्छ ।
शहरमा किन जोखिम बढी ?
शहरहरूमा फ्ल्यास फ्लडको खतरा अझै धेरै हुन्छ । किनभने शहरमा पानी जम्मा गर्ने ताल, खाल्डा वा हरियाली जमिन कम हुन्छ । सडक, फुटपाथ र भवनहरू कंक्रिटले बनेका हुन्छन्, जसले पानी सोस्न सक्दैन । जब पानी सोसिँदैन, तब सडक र गल्लीहरूमा पानी जम्मा भएर बाढीको रूप लिन्छ । उदाहरणका लागि, सन् २०२० मा अमेरिकाको मिशिगनमा तीन दिनको भारी वर्षाले इडेनभिल बाँध फुट्यो । यो बाँध फुट्दा मिडल्यान्ड शहरमा ठूलो बाढी आयो, जसले १५० घरहरू नष्ट गर्यो र हजारौँ मानिसलाई सुरक्षित ठाउँमा सार्नुपर्यो । पहाडी खोला, नदी र होचा ठाउँहरूमा पनि फ्ल्यास फ्लड सामान्य हुन्छ ।
जलवायु परिवर्तनले झनै खतरा
जलवायु परिवर्तनले फ्ल्यास फ्लडको जोखिमलाई विश्वभर बढाइरहेको छ, विशेषगरी समुद्रको किनार र होचा ठाउँहरूमा । किनभने यो परिवर्तनले चरम मौसमी घटनाहरू (जस्तै धेरै पानी पर्ने, सुक्खा, वा हिमताल फुट्ने) र समुद्रको सतह बढाउँछ । जब पृथ्वीको तापमान एक डिग्री बढ्छ, हावाले ७ प्रतिशत बढी पानी बोक्न सक्छ । यसले आँधी र बादल फाट्ने (धेरै पानी एकैपटक खस्ने) घटनाहरू बढाउँछ ।
सन् २०२५ को एक अध्ययनले देखाएअनुसार सन् २१०० सम्ममा थप ३० करोड मानिसहरू बाढीको जोखिममा हुनेछन् । यीमध्ये २१.१ प्रतिशत मानिस जलवायु परिवर्तनकै कारण बाढीको जोखिममा पर्नेछन् । सन् २००० देखि २०१५ सम्ममा बाढीको जोखिममा हुने मानिसको संख्या २० प्रतिशतले बढ्यो, जुन पहिलेको अनुमानभन्दा १० गुणा धेरै हो ।
पग्लिरहेका हिमनदीहरू र भासिँदै गएका शहरहरूले समुद्रको सतह अझै बढाइरहेको छ । यसले समुद्री किनाराका शहरदेखि हिमालय क्षेत्रका ठाउँहरूमा बारम्बार बाढीको चपेटमा पर्न थालेका छन् । सन् २०२५ को अध्ययनअनुसार, सन् २०२० को तुलनामा हिमनदीहरूले ३९ प्रतिशत हिउँ गुमाउनेछन्, जसले समुद्रको सतह चार इन्चले बढ्नेछ ।
बाढीले के–के असर गर्छ ?
बाढीले हरेक वर्ष विश्वभर ४० अर्ब डलरभन्दा बढीको क्षति पुर्याउँछ । अमेरिकामा मात्र औसतमा ८ अर्ब डलरको नोक्सानी हुन्छ । बाढीले मानवीय क्षति पनि गर्छ—अमेरिकामा हरेक वर्ष १०० भन्दा बढी मानिसको ज्यान जान्छ । बाढीपछि प्रभावित ठाउँहरू हिलो र माटोले ढाकिन्छन् । बाढीले जमिनमा फोहोर, कीटनाशक, इन्धन र ढल पनि मिसाइदिन्छ । यसले जमिन र पिउने पानी प्रदूषित बनाउँछ ।
बाढीले भिजेका घरहरूमा छिट्टै ढुसी फैलिन्छ, जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । बाढी प्रभावित ठाउँमा बिजुली र सफा पानीको अभाव हुन्छ, जसले टाइफाइड, हेपाटाइटिस ए, र हैजा जस्ता रोगहरू फैलिन सक्छ ।
बाढीबाट बच्न र तयारी गर्न के गर्ने ?
बाढी प्राकृतिक हो र यो लाखौँ वर्षदेखि नदीहरूमा आइरहेको छ । मिसिसिपी उपत्यका, इजिप्टको नाइल नदी उपत्यका, र मध्यपूर्वको टिग्रिस–युफ्रेट्स जस्ता जमिनलाई उर्वर बनाउने पनि बाढी नै हो । किनभने बर्सेनि आउने बाढीले जमिनमा पोषक तत्वले भरिपूर्ण माटो (हिलो) जम्मा गर्छ । जसले कृषिलाई फाइदा गर्छ । तर, बाढी आउने जोखिमयुक्त ठाउँमा घर र शहर बनाउँदा मानवीय र आर्थिक क्षति बढेको छ ।
बाढीको जोखिम कम गर्न सरकारहरूले बाढी बीमा अनिवार्य गर्न सक्छन र बाढी प्रतिरोधी भवन बनाउने नियमहरू लागू गर्न सक्छन् । तर, यस्ता नियमको प्रभावकारिता र सफलता ठाउँअनुसार फरक-फरक हुनसक्छ ।
बाढीको असर कम गर्न र यसको दिशा परिवर्तन गर्न ठूला इन्जिनियरिङ प्रयासहरू भएका छन् । जस्तै न्यू अर्लिन्सको विशाल तटबन्ध प्रणाली र नेदरल्यान्ड्सका ठूला बाँधहरू । जलवायु परिवर्तनले बाढी जोखिमयुक्त क्षेत्रहरूमा दबाब बढाइरहँदा यस्ता प्रयासहरू आज पनि जारी छन् ।
बार्खा याममा वा बाढी आउने समयमा मौसम पूर्वानुमान सेवाले सतर्कता वा चेतावनी जारी गर्छ । बाढी सतर्कताले मानिसहरूलाई तयार रहन र सजग बनाउँछ । फ्ल्यास फ्लड चेतावनीले तुरुन्तै बाढी आउँदै छ वा बाढी आइसकेको भनेर जानकारी दिन्छ । यस्तो चेतावनी आएको बेला तुरुन्तै उच्च ठाउँमा जानुपर्छ । मौसमको अपडेट नियमित जाँच गर्नुहोस्, किनभने आँधी र बाढीहरू अहिले झनै तीव्र र अप्रत्याशित भइरहेका छन् ।
(नेशनल जियोग्राफिकबाट भावानुवादित)
Facebook Comment
Comment