स्याटेलाइट तस्वीर विश्लेषण : तिब्बतमा ताल फुट्दा भोटेकोशीमा बाढी
नेपालभ्युज
तस्वीर स्रोत - नितेश खड्का
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा हिमनदी माथि बनेको ताल (सुप्राग्लेशियल लेक) फुटेर बाढी आएको विज्ञहरुले बताएका छन् । स्याटेलाइट तस्वीरहरूको अध्ययन गर्दै विज्ञहरुले सुप्राग्लेशियल ताल विस्फोट हुँदा बाढी आएको बताएका छन् ।
चीनको गाओफेन स्याटेलाइटबाट प्राप्त तस्वीरअनुसार भोटेकोशीको जलाधार क्षेत्रमा रहेको हिमनदीमा ताल बनेको र उक्त ताल विस्फोट भएपछि नदीमा पानीको सहत बढेर बाढी आएको देखिन्छ ।
चीनको चाइनिज एकेडेमी अफ साइन्समा पीचएडी अध्ययनरत नितेश खड्काको विश्लेषण अनुसार सुप्राग्लेशियल तालहरू हिमनदीसँगै बग्ने अस्थायी प्रकृतिका हुन्छन् । यी तालहरु कहिले हिमनदीले छोपिन्छन त कहिले सतहमा आउँछन् ।
स्याटेलाइट तस्वीरमा भोटेकोशीको जलाधार क्षेत्रमा सन् २०२१ अगाडि सुप्राग्लेशियल ताल देखिँदैन । तर, सन् २०२२ का तस्वीरमा सुप्राग्लेशियल ताल देखिन्छन् । स्याटेलाइट तस्वीरअनुसार सन् २०२४ नोभेम्बर ३० मा एउटा सुप्राग्लेशियल ताल अचानक गायब भएको थियो । तर, ५ जुलाई २०२५ मा फेरि सुप्राग्लेशियल ताल देखा परेको थियो ।
तस्वीर स्रोत – गुगल अर्थ (जहाँ हिनमनदी माथि बनेको ताल फुट्यो)
८ जुलाई २०२५ (२०८२ असार २४)को तस्वीरमा सुप्राग्लेशियल ताल फुटेको देखिन्छ । सुप्राग्लेशियल ताल फुटेपछि नदीको आकार बढेको स्याटेलाइट तस्वीरमा देखिन्छ ।सुप्राग्लेशियल ताल फुटेपछि पानीसंगै ठूलो मात्रामा गेग्रान पनि बग्दा तटीय क्षेत्रमा बाढी आएको हुनसक्ने जानकारहरुले बताएका छन् ।
स्याटेलाइट तस्वीरको विश्लेषण प्रारम्भिक चरणमै रहेको बताउँदै खड्का भन्छन्, ‘यी तस्वीरको थप विश्लेषण र त्यस क्षेत्रका सुप्राग्लेशियल तालहरुको गहन अध्ययन गर्नुपर्छ ।’
खड्कासहितको टोलीले तिब्बती क्षेत्रमा रहेका हिमताल विस्फोटको जोखिममा रहेको भन्दै एउटा अध्ययन पनि गरिसकेको छ । उक्त अध्ययन १ जुन २०२५ मा सार्वजनिक भएको थियो । उक्त अध्ययनमा तिब्बती क्षेत्रमा विस्फोटको जोखिममा रहेका तालहरु फुटेमा नेपाली भू-भागमा पर्ने असरबारे चेतावनी दिइएको छ ।
नेपालका सम्बन्धित निकायले पनि बाढी कसरी आयो भनेर अध्ययन गरिरहेका छन् । गृहमन्त्री रमेश लेखकले संसद्मा बाढीबारे जानकारी दिँदै कसरी एक्कासी बाढी आयो भनेर अध्ययनमा रहेको जानकारी दिए ।
मंगलबार बिहान आएको बाढीमा परेर अहिलेसम्म ९ जनाको मृत्यु भइसकेको छ भने १९ बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको छ ।
Facebook Comment
Comment