काठमाडौं । भारतको गुजरात राज्यस्थित आनन्द जिल्लामा बुधबार महिसागर नदीमाथिको गम्भीरा पुल भत्किएको छ ।
उक्त पुलले मध्य गुजरातलाई सौराष्ट्रसँग जोड्छ र बडोदरालाई आनन्दसँग जोड्ने मार्गमा अवस्थित थियो ।
बीबीसी गुजरातीका अनुसार पुल भत्किँदा धेरै सवारी साधन नदीमा खसेका छन् । घटनाको खबर पाउने बित्तिकै स्थानीय प्रशासनले राहत र उद्धार कार्य सुरु गरेको छ ।
घटनामा अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
घटनास्थलका तस्वीरहरूमा पुलको भाँचिएको रेलिङमा एउटा ट्रक अड्किएको देखिन्छ भने केही अन्य सवारी साधनहरू नदीमा खसेको देख्न सकिन्छ ।
त्यहाँ उपलब्ध भिडिओ फुटेजमा स्वास्थ्यकर्मीहरूले नदीबाट पीडितहरूलाई निकालेर एम्बुलेन्समा लैजाँदै गरेको देखिन्छ । पुलमा प्रहरी बलको उपस्थिति पनि देखिएको छ ।
यो पुल आनन्द जिल्लाको गम्भीरालाई बडोदराको पाड्रा र भरुचसँग जोड्ने सडकमा अवस्थित थियो । प्रशासनिक स्तरमा अनुसन्धान सुरु गरिएको छ ।
Facebook Comment
Comment