काठमाडौं । मंगलबार रसुवाको भोटेकोशी नदीमा १८ जना बेपत्ता हुने गरी एकाएक बाढी आयो । नेपाल प्रहरीका अनुसार तीन जना प्रहरी, अन्य नेपाली ११ जना र ६ जना चिनियाँ नागरिकसहति २० जना बेपत्ता रहेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । जलविद्युत्सहितका कैंयौ संरचनाहरूमा पनि क्षति पुगेको छ ।
पानी नपरेको हुनाले बाढी आउने अनुमान स्थानीय बासिन्दाहरूको थिएन । अनलाइन खबर डटकममा स्थानीयहरूले दिएको प्रतिक्रियाका अनुसार नदीको ठूलो आवाज आएपछि मात्र उनीहरूले बाढी आएको थाहा पाएका थिए । नदी तटीय क्षेत्रका बासिन्दाहरूसँग मात्र होइन, बाढीको पूर्वानुमान भने सरकारसँग पनि थिएन ।
जल तथा मौसम पूर्वानुमान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखा छ । यसले, बर्खाको समयमा बाढीको पूर्वानुमान गर्छ । शाखाका इन्जिनियर विनोद पराजुली बाढी आएको जानकारी मंगलबार बिहान साढे पाँच बजे मात्र थाहा पाएको बताउँछन् । अथवा, बाढी आइसकेपछि ।
त्यसपछि त्रिशूलीको बाढी नुवाकोट आइपुग्न लागेपछि बिहान ६ बजेतिर विभागले बाढीबारेको बुलेटिन सार्वजनिक गर्यो । जबकि, बाढी ३ बजेदेखि नै बाढी चीनको तिब्बतबाट नेपाली क्षेत्रमा प्रवेश गरिसकेको थियो ।
लगातार बाढी पूर्वानुमानमा चुक
बाढी पूर्वानुमान शाखाले तीन दिनअघि निकालेको ‘बाढी बुलेटिन‘मा समेत यो क्षेत्रका नदीहरू ‘सामान्य रहने’ अनुमान सार्वजनिक गरेको थियो । गएको २२ असारको बिहान ८ बजे तीन दिनको बाढी पूर्वानुमान बुलेटिन शाखाले निकालेको थियो ।
सो बुलेटिनमा मंगलबार एक्कासि बाढी आएको रसुवाको भोटेकोशीमा बाढी आउने सम्भावना देखाएको छैन । भोटेकोशी नदी नेपाल-चीन जोड्ने मैत्री पुल, जुन बाढीले बगाएको छ, कटेलगत्तै त्रिशूली नदीमा मिसिन्छ । बुलेटिनमा त्रिशूली नदीमा मंगलबार सामान्य मात्र नदी सतह बढ्ने अनुमान गरिएको थियो ।
तर, बाढी को पूर्वानुमान नभएको यो पहिलो घटना भने होइन । सिन्धुपाल्चोकको मेलम्चीमा २०७८ सालमा आएको ‘गेग्रानयुक्त बाढी’को समेत पूर्वानुमान भएको थिएन ।
सिन्धुपाल्चोक उत्तरी सिमाना मैत्री पुलभन्दा २० किलोमिटरमाथि तिब्बतमा जाङजाम्बो हिमतालबाट १२ सय मिटर उत्तरमा रहेको एउटा सानो हिमताल फुटेको थियो । त्यतिबेला उक्त बाढीले काठमाडौंमा पानी भित्र्याउने मेलम्ची खानेपानी परियोजनासहित मेलम्ची बजार क्षेत्रमा विध्वंस निम्त्याएको थियो ।
सप्तकोशीमा भारतको पूर्वानुमान मिल्यो, नेपालको ‘फेल’
गएको वर्ष देशकै ठूलो नदी सप्तकोशीमा समेत बाढीको पूर्वानुमान गर्न पूर्वानुमान महाशाखा चुकेको थियो । देशभर असोज १० गतेदेखि ठूलो वर्षा सुरु भएको थियो । जल तथा मौसम विज्ञान विभागले असोज ९, २०८१ मा विशेष मौसम बुलेटिन जारी गरेर १० गतेदेखि १३ गतेसम्म धेरै भारी वर्षा हुनसक्ने अनुमान गरेको थियो ।
अत्यधिक वर्षाका कारण रोशी, झ्याप्लेलगायतका खोलाहरूमा ठूलो बाढी आयो । यी नदीहरू सुनकोशी हुँदै सप्तकोशीमा आएर मिसिन्छन् ।
वर्षाको पूर्वानुमान सँगसँगै बाढी पूर्वानुमान महाशाखाले असाेज १०, २०८१ साँझ ५ बजे विशेष बाढी पूर्वानुमान बुलेटिन जारी गरेको थियो । बाढी पूर्वानुमान शाखाले गरेको पूर्वानुमानमा सप्तकोशी नदीमा ‘मध्यम जोखिम’को मात्र बाढी आउने उल्लेख थियो ।
तर, त्यो पूर्वानुमानविपरीत असोज १३, २०८१ मा ५६ वर्षयताकै सबैभन्दा ठूलो बाढी कोशीमा आयो । १३ असोजको बिहान कोशीमा ६ लाख ६१ हजार क्युसेक पानीको बहाब रेकर्ड भएको थियो ।
त्यो बाढीले श्रीलंका टापुसहित बेलका नगरपालिकाका वडाहरू प्रभावित भएका थिए । पछि सरकारले बेलका नगरपालिकालाई विपद् क्षेत्र घोषणासमेत गरेको थियो ।
नेपालमै भएको वर्षाका कारण कोशी नदीमा ठूलो बाढी आउँछ भन्ने अनुमान गर्न त्यतिबेला बाढी पूर्वानुमान शाखा चुक्यो तर ‘कोशी हेर्ने’ भारतीय सरकारी निकाय ‘जल संसाधन मन्त्रालय’ले कोशीमा इतिहास मै सबैभन्दा ठूलो बाढी आउनसक्ने भन्दै चेतावनीसहितको पूर्वसूचना जारी गरेको थियो ।
सूचनामा असोज १२, २०८१ मा कोशी ब्यारेजबाट ६ लाख ८१ हजार क्युसेक पानी बग्ने भनिएको थियो । जोखिमको पूर्वानुमानसँगै भारतले कोशी प्रोजेक्टसँगै जल संसाधन विभागमा कार्यरत सबै कर्मचारीको बिदा रद्द गरेर काममा फर्काएको थियो ।
हिमताल विस्फोट मुख्य कारण ?
रसुवाको भोटेकोशीमा मंगलबार आएको बाढी आउनुको ठ्याक्कै कारण अझै भेटिएको छैन । बाढीको कारणमा हिमताल विस्फोट वा पहिरो हुनसक्ने आकलन सरकारको छ । ‘बाढी आएको आकलन मात्र गर्न सकिन्छ निरीक्षण गर्न सकिँदैन,’ जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाका इन्जिनियर पराजुली भन्छन् ।
केही चिनियाँ सञ्चारमाध्यमले नेपाल-चीन सीमाको मैत्री पुलबाट माथि तिब्बतको जिलोङ काउन्टीमा रहेको जिलोङ बन्दरगाह क्षेत्रमा पहिरो गएको बताएका छन् । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाको हवाला दिँदै चिनियाँ सञ्चारमाध्यमहरूले जिलोङ बन्दरगाह क्षेत्रमा पहिरो गएको बताएका छन् ।
पहिरोको कारणले बाढी आएको प्रारम्भिक विवरणहरू आए पनि नेपालमा एक्कासि बाढी आउने कारणमा सबैभन्दा ठूलो कारण हिमताल विस्फोट हो ।
गएको वर्ष सोलुखुम्बुको थामेगाउँ बाढीले एकाएक तहसनहस भयो । खुम्बु पासाङल्हामु गाउँपालिका– ५ स्थित थामे खोला किनारको गाउँमा मानवीय क्षति नभए पनि थामेगाउँका १० घरमा आंशिक क्षति पुग्यो भने, १३ घर, एक विद्यालय भवन, एक स्वास्थ्य क्लिनिक तथा दुई होटेल पनि बाढीले पूरै बगायो ।
वर्षा नभए पनि एक्कासि थामेगाउँ बगाउने गरी बाढीको कारण भने हिमताल विस्फोट थियो । माथिल्लो क्षेत्रमा भएका ग्लेसियर पग्लिएर तालहरू ठूलो बन्दै जाँदा विस्फोट भएको थियो । थामेगाउँमाथि पाँच वटा हिमताल थिए । तीमध्ये दुईवटा हिमताल विस्फोट भएर भीषण बाढी आएको थियो ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले सन् २०२० मा कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्रमा रहेका हिमतालहरूको अध्ययन गरेको थियो । उक्त अध्ययनले नेपाल, भारत र तिब्बतमा रहेका ३ हजार ६ सय २४ हिमतालमध्ये ४७ वटा विस्फोटको जोखिममा रहेको निष्कर्ष निकालेको थियो।
हिमताल विस्फोटको सम्भावनासँगै प्रतिवेदनले अन्तर्देशीय पूर्वसूचना प्रणाली व्यवस्थित बनाउनुपर्ने बताएको थियो । ४७ मध्ये आधाभन्दा बढी हिमतालहरू तिब्बती क्षेत्रमा छन् । ती क्षेत्रमा भएका घटनाहरूको जानकारी लिन आदानप्रदान गर्न पूर्वसूचना प्रणालीको संयन्त्र बनाउनुपर्ने सुझाव प्रतिवेदनमा छ ।
अन्तर्देशीय पूर्वसूचना संयन्त्र खै?
बाढीलगायत मौसम पूर्वानुमानका लागि अन्तर्देशीय समन्वय, जोखिम न्यूनीकरणका लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । तर, यस्तो अन्तर्देशीय समन्वय न भारतसँग प्रभावकारी रूपमा भएको देखिन्छ, न त चीनसँगै ।
मंगलबारकै बाढीको विषयमा बाढी पूर्वानुमान शाखाका इन्जिनियर पराजुलीले चीनबाट सूचना पाउन नसकेको बताए । ‘बाढीको सूचना चीनबाट पनि प्राप्त गर्न सकेनौँ । नेपालमा बाढी पसेपछि मात्र त्यो सूचना हामीले थाहा पायौँ,’ उनले भने ।
पराजुलीले भने जस्तै नेपालमा विपद् पूर्वसूचनाका लागि अन्तर्देशीय समन्वय गर्न संयन्त्र छैन । तर, तिब्बत क्षेत्रमा धेरै हिमतालहरू विस्फोटको जोखिममा छन् । जसको कारण नेपालमा ठूलो क्षति हुने देखिन्छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता सुरेश सुनारले अन्तर्देशीय विपद्को पूर्वसूचनाबारे ठ्याक्कै संयन्त्र नभए पनि परराष्ट्र मन्त्रालय वा जिल्ला प्रशासन कार्यालयहरूमार्फत सूचना आउने बताउँछन् ।
‘अन्तर्देशीय विपद्सम्बन्धी जानकारी हामीले पनि सिडिओ कार्यालयमार्फत पाउने हो,’ सुनारले भने, ‘ठूला विषयहरू भए परराष्ट्र मन्त्रालयमार्फत आउँछ ।’
Facebook Comment
Comment