काठमाडौं । चीनले आफ्नो भिसा नीति परिवर्तन गरेपछि विदेशी पर्यटक आउन थालेका छन् । ७४ वटा देशका नागरिकलाई अब चीनमा भिसाबिना नै ३० दिनसम्म बस्न अनुमति दिइएको छ । यो निर्णयसँगै पर्यटन, अर्थतन्त्र र सॉफ्ट पावर विस्तार गर्ने सरकारको प्रयासलाई नयाँ उचाइ दिइएको छ ।
चीनको राष्ट्रिय आप्रवासन प्रशासनका अनुसार सन् २०२४ मा २ करोडभन्दा बढी विदेशी नागरिकले भिसा नलिई चीन प्रवेश गरेका थिए, जुन कुल विदेशी आगन्तुकको झण्डै एक तिहाइ हो र अघिल्लो वर्षको तुलनामा दोब्बर वृद्धि हो ।
अस्ट्रियामा बसोबास गर्ने जर्जियाका नागरिक जर्जी शावाद्जे भन्छन्, “भिसा प्रक्रियाको झन्झट नहुँदा घुम्न निकै सजिलो भएको छ ।”
बेइजिङको टेम्पल अफ हेभेनजस्ता पर्यटकीय स्थलहरूमा अझै पनि घरेलु पर्यटकको भीड नै बढी देखिन्छ । तर, अनुभवी अंग्रेजी बोल्ने टुर गाइड गाओ जुन भने विदेशी पर्यटकको चाप अत्यधिक बढेको बताउँछन् । “म आफैँले सबै टुर सम्हाल्न नसक्ने अवस्थामा छु,” उनी भन्छन् । उनले अहिले नयाँ अंग्रेजी टुर गाइड तालिम कार्यक्रम नै सुरु गरेका छन् ।
कोभिड–१९ का कठोर प्रतिबन्ध हटाएपछि चीनले सन् २०२३ को सुरुवातमा आफ्नो सीमा पर्यटकका लागि खुला गरेको थियो । तर, त्यो वर्षमा जम्मा १ करोड ३८ लाख पर्यटकले मात्र भ्रमण गरे, जुन महामारीअघिको सन् २०१९ को तुलनामा आधा मात्रै हो ।
सन् २०२३ को डिसेम्बरमा फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, स्पेन र मलेसियाका नागरिकलाई भिसामुक्त प्रवेश दिइएपछि क्रमशः युरोपका अधिकांश देश सूचीमा थपिएका छन् । पछिल्लो महिनामा पाँच ल्याटिन अमेरिकी देश र उज्बेकिस्तानले यस्तो सुविधा पाए भने त्यसपछि चार मध्यपूर्वी मुलुकहरू पनि समावेश भए । आउँदो जुलाई १६ बाट अजरबैजान पनि यो सूचीमा सामेल हुँदैछ ।
हालसम्म दुई तिहाइ देशहरूलाई भिसामुक्त सुविधा एक वर्षे परीक्षण अवधिका लागि प्रदान गरिएको छ ।
नर्वेका ओएस्टेइन स्पोर्शेइमका अनुसार अब चिनियाँ दूतावासको चक्कर काट्नु नपर्ने हुँदा परिवारसहितको यात्रा सजिलो भएको छ । “दूतावास प्रायः बन्द नै हुने, बच्चासँग भिसा बनाउने झन्झट अब सकियो,” उनी भन्छन् ।
‘वाइल्डचाइना’ नामक कम्पनीकी प्रबन्ध निर्देशक जेनी झाओका अनुसार भिसा नीतिले व्यवसायमा ठूलाे फाइदा पुर्याएको छ । कम्पनीको व्यवसाय महामारीअघि भन्दा ५०% ले बढेको उनले बताइन् । हाल उनीहरूको कुल ग्राहकमध्ये ३०% अमेरिकाबाट आउँछन् भने १५–२०% युरोपेली छन्, जुन सन् २०१९ अघि ५% भन्दा कम थियो ।
भिसा सूचीमा नपरेका १० देशका नागरिकहरूका लागि अर्को विकल्प पनि खुला गरिएको छ । यदि उनीहरू तेस्रो देश जान चाहन्छन् भने चीन प्रवेशपछि १० दिनसम्म रहन पाउनेछन् । यो सुविधा ६० वटा प्रवेश नाकामा उपलब्ध छ । यसअन्तर्गत अमेरिका, बेलायत, क्यानडा, मेक्सिको, इन्डोनेसिया, युक्रेन, रूस, स्वीडेन, चेक गणराज्य र लिथुएनियाका नागरिकहरू पर्छन् ।
हालसम्म कुनै पनि प्रमुख अफ्रिकी मुलुकलाई ३० दिनको भिसामुक्त प्रवेश दिइएको छैन, यद्यपि चीनको अफ्रिकासँगको सम्बन्ध गहिरो मानिन्छ ।
Facebook Comment
Comment