पानी नपरीकनै रसुवामा कसरी आयो ठूलो बाढी ?

हिमताल विस्फोट वा पहिरोले नदी थुनिएको हुनसक्ने

पानी नपरीकनै रसुवामा कसरी आयो ठूलो बाढी ?
तस्वीर : नेपाली सेना

काठमाडौं । भोटेकोसी नदीमा एक्कासि आएको विनाशकारी बाढीले रसुवामा ठूलो क्षति पुर्‍याएको छ । बाढीले केरुङ नाकाको नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ भने हालसम्म १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ६ चिनियाँ नागरिक र उद्धारमा खटिएका तीन जना प्रहरीसमेत छन् ।

जनधनको क्षति निम्त्याएको बाढीको कारण पत्ता भने लागिसकेको छैन । जल तथा मौसम पूर्वानुमान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार बाढी आउनुको ‘ठ्याक्कै’ कारण अहिलेसम्म पत्ता लागिसकेको छैन ।

हिमताल फुटेको आशंका, महाशाखाले भन्यो – वर्षाको कारण भोटेकोसीमा बाढी आएको होइन 

नेपाली भूभागमा बाढी निम्त्याउने गरी वर्षा नभएको र सिमाना जोडिएको छिमेकी तिब्बती क्षेत्रमा पनि ठूलो वर्षाको भएको रेकर्डमा नदेखिएको उनले बताए । बाढी पूर्वानुमान महाशाखाका अनुसार रसुवाको धुन्चे र क्यान्जीङ्मा रहेको मौसमी केन्द्रले त्यस क्षेत्रमा फाटफुट मात्र वर्षा भएको रेकर्ड गरेका छन् ।

ठूलो पानी नपरीकनै कसरी यस्तो विनाशकारी बाढी आयो त ?

विभागले यो बाढीका दुई मुख्य सम्भावित कारण हुनसक्ने अनुमान गरेको छ ।

पहिलो भाेटेकाेसीकाे माथिल्लो क्षेत्रमा रहेका हिमतालमध्ये कुनै एक विस्फोट भएको हुनसक्छ ।

दोस्रो, भाेटेकाेसीकाे माथिल्लो क्षेत्रमा पहिरो गएर नदी थुनिएपछि एकैपटक पानी आएको हुनसक्छ ।

के कारणले बाढी अ‍ाएकाे हो भनेर स्याटलाइट तस्वीरहरूको अध्ययन भइरहेको विभागले बताएको छ । विभागका अनुसार नेपाल-चीनबीच अन्तर्देशीय छलफल पनि भइरहेको छ । ‘ठ्याक्कै यही कारणले बाढी आयो भन्ने स्थिति छैन, अध्ययन भइरहेको छ,’ कायस्थले भने ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड) मा हिमतालसम्बन्धी अनुसन्धानकर्ता सुदनविकास महर्जनका अनुसार बाढी आएको क्षेत्रभन्दा माथि केही हिमतालहरू छन् । तीमध्ये कुनै हिमताल विस्फोट भएको हुनसक्ने वा पहिरोको कारण नदी थुनिएर एक्कासि बाढी आएको हुनसक्ने उनी अनुमान गर्छन् ।

भोटेकोसी बाढी : यी हुन् बेपत्ता १८ जना 

ईसिमोड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले सन् २०२० मा कोसी, गण्डकी र कर्णाली जलाधार क्षेत्रमा रहेका हिमतालहरूको अध्ययन गरेको थियो । उक्त अध्ययनले नेपाल, भारत र तिब्बतमा रहेका ३ हजार ६ सय २४ हिमतालमध्ये ४७ वटा विस्फोटको जोखिममा रहेको निष्कर्ष निकालेको थियो ।

‘यही कारण बाढी आयो होला भन्न विस्तृत अनुसन्धान नै गर्नुपर्छ। तर, तत्काल हेर्दा हिमताल विस्फोट वा पहिरोको कारण आएको जस्तो देखिन्छ,’ महर्जनले नेपालभ्युजसँग भने ।

बाढी पूर्वानुमान शाखाका अनुसार स्याँफ्रुबेसी मापन केन्द्रमा आज बिहान ३ बजेर ४० मिनेटमा पानीको सतह ५.३७ मिटर पुगेको थियो । यसपछि बाढीले मापन उपकरण नै बगाएकाले थप तथ्याङ्क संकलन गर्न नसकिएको शाखाले बताएको छ ।

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल, टिमुरे सुक्खा बन्दरगाह, रसुवागढी हाइड्रोपावर र क्याम्पमा समेत क्षति पुर्‍याएको छ । बाढीले कति क्षति भयो भनेर अझै यकिन विवरण आइसकेको छैन ।

त्रिशूली नदीमा भेटिए दुई शव 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved