काठमाडौं । पछिल्लो ११ महिनामा अन्य देशलाई करिब साढे दुई खर्बको सामान बेचेको रिपोर्ट सार्वजनिक भएको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाअनुसार चालु आर्थिक वर्षको ११ महिनामा निर्यात गत वर्षको तुलनामा ७७.८ प्रतिशतले बढेको छ । जसअनुसार कुल निर्यात २ खर्ब ४७ अर्ब ११ करोड रुपैयाँ बराबरको सामाना बेचेको राष्ट्र बैंकले जनाएको छ । यो रिपोर्ट गत जेठ मसान्तसम्मको हो ।
राष्ट्र बैंकका अनुसार ११ महिनामा सबैभन्दा धेरै भारततर्फ निर्यात बढेको छ । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ११२.६ प्रतिशत, ३.० प्रतिशत र ४.४ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, जुटका सामान, चिया, खोटो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिङ्क सिट, जुस, तयारी पोसाक, अलैँची लगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा कुल वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई १६४४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १.८ प्रतिशतले कमी आएकोे थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.६ प्रतिशत, १५.३ प्रतिशत र २९.५ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल/धान, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस, खाने तेल, स्पन्ज आइरनलगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सुन, विद्युत्तीय उपकरण, रासायनिक मल, कोइला लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ भैरहवा, विराटनगर, वीरगञ्ज, सुख्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ ।
आयाततर्पm जलेश्वर र त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले वृद्धि भई १३ खब ९७ अर्ब २३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १.७ प्रतिशतले कमी आएकोे थियो ।
समीक्षा अवधिमा निर्यात–आयात अनुपात १५.१ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.६ प्रतिशत रहेको थियो ।
यस्तै समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १६७ अर्ब ३० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३७ अर्ब १३ करोड रुपैयाँ बराबरको भएको थियो ।
आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा विप्रेषण आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई रु.१५३२ अर्ब ९३ करोड पुगेको छ । विदेशबाट कमाएर पठाउने रकम नै विप्रेषण हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ पतिशतले बढेको थियो । २०८२ जेठ महिनाको विप्रेषण आप्रवाह रु.१७६ अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह रु.१२८ अर्ब ९१ करोड रहेको थियो ।
मीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।
पछिल्लो ११ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङख्या ४,५२,३२४ र पुनः श्रम स्वीकृति लिनेको सङख्या ३,०८,०६७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङख्या क्रमशः ४,२१,३५६ र २,६१,२१० रहेको थियो ।
Facebook Comment
Comment