समयमै इन्जिन पार्ट्स नफेरेको र रेकर्ड फर्जी गरेको भन्दै एअर इन्डियालाई चेतावनी

नेपालभ्युज

समयमै इन्जिन पार्ट्स नफेरेको र रेकर्ड फर्जी गरेको भन्दै एअर इन्डियालाई चेतावनी
फाइल फोटो

काठमाडौं । भारतको नागरिक उड्डयन नियामक निकाय, डीजीसीए (DGCA) ले टाटा समूहअन्तर्गतको एअर इन्डिया एक्सप्रेसलाई गम्भीर सुरक्षा चूकका कारण चेतावनी दिएको खुलेको छ ।

सन् २०२४ को मार्चमा पठाइएको एक गोप्य सरकारी ज्ञापनमा एअरबस A320 मा प्रयोग भएका इन्जिन पार्ट्स समयमै परिवर्तन नगरेको र रेकर्डहरु नै फर्जी गरेर निर्देशनअनुसार काम पूरा भएको देखाइएको उल्लेख छ ।

यो प्रकरण युरोपेली संघको उड्डयन सुरक्षा निकाय (EASA) को निर्देशनसँग सम्बन्धित छ, जसले CFM International को LEAP-1A इन्जिनमा देखिएको ‘सम्भावित असुरक्षित अवस्था’ हटाउन केही महत्वपूर्ण कम्पोनेन्ट फेर्न निर्देशन दिएको थियो । ती पार्ट्स समयमा नफेरेमा इन्जिन फेल हुने,विमानको नियन्त्रण गुम्ने सम्भावना रहेको चेतावनी दिइएको थियो ।

डीजीसीएको निरीक्षणमा एअर इन्डिया एक्सप्रेसको VT-ATD दर्ता नम्बरको विमानमा समयसीमाभित्र इन्जिन पार्ट्स परिवर्तन नभएको देखिएको थियो । झनै चिन्ताजनक कुरा एअरलाइन्सले आफ्नो AMOS (Aircraft Maintenance Operating System) सफ्टवेयरमा रेकर्ड फेरबदल गरेर काम सम्पन्न भएको देखाएको पाइएको हो ।

एअर इन्डिया एक्सप्रेसले यो चूक स्वीकार्दै सफ्टवेयर अभिलेख स्थानान्तरणको क्रममा समयसीमा छुटेको र तुरुन्त सुधार गरिएको जनाएको छ । यद्यपि, उसले फर्जी रेकर्डको विषयमा प्रत्यक्ष जवाफ दिएको छैन ।

घटनापछि एअरलाइन्सले सम्बन्धित गुणस्तर प्रबन्धकलाई पदबाट हटाएको र एअरवर्थिनेस डिपार्टमेन्टका उपप्रबन्धकलाई निलम्बन गरेको जनाएको छ ।

युरोपेली संघको उड्डयन निकायले यस घटनाबारे थप अनुसन्धान गर्ने जनाएको छ । इन्जिन उत्पादक CFM (General Electric र Safran को संयुक्त उद्यम) तथा एअरबसले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

यो प्रकरण गत जुनमा भएको एअर इन्डियाको ड्रीमलाइनर दुर्घटनापछि आएको हो, जसमा अहमदाबादमा भएको दुर्घटनामा २४२ मध्ये २४१ यात्रुको मृत्यु भएको थियो ।

गत वर्ष भारत सरकारले संसदलाई दिएको विवरणअनुसार सन् २०२३ मा मात्रै विभिन्न एअरलाइन्सले २३ पटक सुरक्षा मापदण्ड उल्लङ्घन गरेका थिए । तीमध्ये तीनवटा एअर इन्डिया एक्सप्रेस र आठवटा एअर इन्डियासम्बन्धी थिए ।

एअर इन्डिया समूहलाई सन् २०२२ मा टाटा समूहले भारत सरकारबाट अधिग्रहण गरेको थियो । कम्पनीले आफूलाई विश्वस्तरीय सेवा दिने लक्ष्यसहित आक्रामक विस्तार गरिरहेको भए पनि यात्रुहरूबाट सेवा, सरसफाइ र प्राविधिक पक्षमा लगातार गुनासाहरू आइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved