बुटवल । बुटवलस्थित कान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिमा दुई दशक पछि नेकपा एमालेनिकट अभिभावकहरुको ‘कब्जा’ तोडिएको छ ।
शनिबार भएको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा रास्वपा, नेकपा, नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीको गठबन्धनको प्यानल नै विजयी भएको छ ।
शनिबार राति सम्पन्न मतगणनामा २ जना खुल्ला सदस्यतर्फ रामकृष्ण शर्मा र मित्र गिरी विजयी भएका छन् । शर्माले ५१४ मत ल्याए भने गिरीले ४८१ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत झविन्द्र भुसालले जानकारी दिए । शर्मा नेकपा र गिरी रास्वपानिकट हुन् ।
प्रतिस्पर्धामा उत्रेका एमालेनिकट होमनाथ पाण्डेले ३४५ र शिव आचार्यले ३५५ मत मात्र पाए ।
यसैगरी महिला सदस्य २ जनामा पनि गठबन्धनबाट माओवादी केन्द्रनिकट कमला पन्थी ५८८ मतका साथ विजयी भएकी छन् । अर्काे महिला सदस्यमा काँग्रेसनिकट संगिता पोखरेल ५०१ मतसहित विजयी भएकी छन् ।
३ हजार ९७७ मतदाता रहेपनि शनिबार एक १ हजार १४२ मत खसेको थियो । २०८१ वैशाख पहिलो साता नै विद्यालय व्यवस्थापन समितिको समय सकिएको भएपनि नेकपा एमाले र नेपाली काँग्रेसबीच कसले नेतृत्व गर्ने भन्ने विषयमा टकराव हुँदा झन्डै १५ महिनापछि बल्ल निर्वाचन भएको हो ।
नेकपा एमाले निकट अभिभावकहरुले दुई दशकदेखि कान्तिको व्यवस्थापनमा नेतृत्व गर्दै आएका थिए ।
५ हजार ७ सय विद्यार्थी रहेको विद्यालयमा एक अभिभावकले एक मताधिकार पाउने गरी निर्वाचन गराइएको निर्वाचन अधिकृत भुसालले बताए । खुल्लातर्फ २ सदस्यका लागि ९ जना र २ महिला सदस्यका लागि ७ जना गरी ४ पदका लागि १६ जनाले प्रतिस्पर्धा गरेका थिए ।

Facebook Comment
Comment