काठमाडौं । भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या भएको छ ।
गए राति भोजपुर नगरपालिका–२ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र नौ वर्षीय सालो सपन गिरीको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार घटनापश्चात राई आफैँले आज बिहान प्रहरीलाई फोन गरेर घटनाका बारेमा जानकारी गराएका थिए । राईको पनि पेटमा गहिरो चोट लागेको छ ।
जिल्ला अस्पतालमा उपचारपश्चात थप उपचारका लागि उनलाई बाहिर रेफर गरिएको छ । प्रहरीले घटनास्थल पुगेर शवको मुचुल्का उठाइरहेको छ ।
राई करिब एक हप्ताअघिबाट ससुरालीमा बस्दै आएको रामप्रसादराई–२ का वडासदस्य जीवन जर्गा मगरले जानकारी दिए । घरायसी विवादका कारण घटना भएको हुनसक्ने उनको भनाइ छ ।
राजेन्द्रले गत वर्ष मात्र मनिषालाई भगाएर बिहे गरेका थिए । तर, बिहेको केही महिनादेखि नै परिवारले हेला गर्न थालेपछि मनिषा माइती फर्किएकी थिइन् ।
एक स्थानीयकाअनुसार एक हप्ताअघि राजेन्द्र मनिषालाई लिन ससुराली नै पुग्छन् । कुराकानीको क्रममा मनिषा घर फर्किन नमानेको र ससुरा, सासूले पनि आफ्नी छोरीलाई फर्काउन नमानेपछि उनीहरुबीच विवाद भएको थियो । त्यसक्रममा राजेन्द्रले सबैको हत्या गरेको प्रहरी निरीक्षक श्रेष्ठ बताउँछन् ।
घटनास्थलमा प्रहरीको टोली परिचालित भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।
Facebook Comment
Comment