काठमाडौ । उज्बेकिस्तानसँग पेनाल्टीमा चुकेपछि नेपाल महिला एसियन च्याम्पियन सिप (एएफसी) मा छनोट हुनबाट चुकेको छ । शनिबार राति उज्बेकिस्तानमा भएको खेलमा नेपाल पेनाल्टी सुटआउटमा गोलअन्तरले ४–२ पराजित भयो । हारसँगै नेपाल अस्ट्रेलियामा हुने एएफसी च्याम्पिनसिपमा पुग्न सकेन भने फिफा विश्वकप र ओलम्पिकका लागि पनि बाटो बन्द भएको छ ।
नेपालकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले प्रहार गरेको पेनाल्टी बारमा ठोक्किएर फर्कियो । यस्तै अन्जाना रानामगरको प्रहार उज्बेकिस्तानकी गोलकिपरले रोकिन् । त्यसपछि नेपाल नेपाल हार व्यहोर्न बाध्य भयो । यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले तीन तीन गोल गरेका थिए । दुवैतर्फबाट समान गोल भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
नेपालका लागि सावित्रा भण्डारीले ह्याट्रिक गर्दै खेलमा नेपाललाई फर्काएकी थिइन् । पहिलो हाफमा उज्बेकिस्तानले तीन गोल गरेको थियो भने नेपालले एक मात्र गोल गरेको थियो । दोस्रो हाफमा सावित्राले थप दुई गोल गरी खेल बराबरीमा ल्याएकी थिइन् । दोस्रो हाफको ७१ र ७३ औं मिनेटमा लगातार दुई गोल गर्दै साम्बाले नेपाललाई ३–३ को स्थितिमा ल्याएकी थिइन् ।
नेपालले सुरुवातदेखि नै फितलो प्रदर्शन गरेको थियो । खेलको दोस्रो मिनेटमै खबीबुल्लाएभाले घरेलु टोलीलाई सुरुवााती अग्रता दिलाइन् । उज्बेक खेलाडीले डिबक्स बाहिरबाट प्रहार गरेको बललाई डिफेन्डर गीता रानाले हेडर गर्दै रोकेको थिइन् । तर, उनकै अगाडि खसेको बललाई खबीबुल्लाएभाले नियन्त्रणमा लिँदै सहजै प्रहार गरिन् ।
उक्त शक्तिशाली प्रहारलाई रोक्न गोलकिपर अञ्जना रानामगरले कुनै मौका नै पाइनन् । उनी बल आइपुग्नुअघि नै गलत दिशामा पुगिसकेकी थिइन् । त्यसको ८ मिनेटपछि नै नेपालले अर्को गोल व्यहोरेकाे थियाे । त्यो निकै सजिलो गोल रह्यो । कराचिकले बायाँ दिशाबाट मुभ बनाएकी थिइन् । तर, उनलाई रोक्ने कोही भएनन् । अनिता बस्नेत र निशा थोकर उनीसामु नै पुगे पनि गोलकिपर अञ्जनालाई बल रोक्न छाड्दिएका थिए । कराचिकले बल गोल पोस्टतर्फ पास गरेकी थिइन् । उक्त बललाई लाइननजिक रहेकी समीक्षा घिमिरेले क्लियर गर्ने प्रयास गरेकी थिइन् । तर, उनको हल्का छोवाइले उल्टै उज्बेकिस्तानकै फाइदा पुग्यो र बलले जाली चुम्यो ।
२४औं मिनेटमा उज्बेक गोलकिपरको गल्तीका कारण नेपालले गोल फर्कायो । डिबक्सबाट निकै बाहिर आएर उज्बेक गोलकिपरले बललाई क्लियर गर्ने प्रयास गरेकी थिइन् । तर, उक्त बल नजिकै रहेकी रश्मिकुमारी घिसिङसामु खस्यो । उनले हेडरमार्फत दिएको बललाई कप्तान साम्बाले डिबक्स बाहिरबाट सहजै गोलमा परिणत गरिन् । तर, ३९औं मिनेटमा उज्बेकले पुनः अग्रता ३–१ मा पु¥यायो । बल रोक्ने क्रममा सरस्वती हमालले ह्यान्ड गर्न पुगेपछि उज्बेकिस्तानले पेनाल्टी पाएको थियो । जसलाई शोयिमोभाले सहजै गोलमा परिणत गरिन् ।उनले बललाई गोलीझैं तीव्र प्रहार गरेकी थिइन् । दायाँ भागको कुनामा गएको बललाई गोलकिपर अञ्जनाले हेरिरहनबाहेक केही गर्न सकिनन् ।
पहिलो हाफको अतिरिक्त समयमा उज्बेक १० खेलाडीमा समेटियो । एर्गाशेभाले साम्बामाथि पछाडिबाट ट्याकल गरेकी थिइन् । त्यसपछि रेफ्रीले उनलाघ दोस्रो पहेँलो कार्ड दिएकी हुन् । पहिलो हाफमा निकै फितलो प्रदर्शन गरे पनि साम्बानेपाललाई खेलमा फर्काइन् । प्रतियोगितामा उनको यो तेस्रो ह्याट्रिक हो । उनले लाओसविरुद्धको ९–० र श्रीलंकाविरुद्धको ८–० को जितमा पनि ह्याट्रिक गरेकी थिइन् । योसँगै उनले आफ्नो अन्तर्राष्ट्रिय गोल ६८ मा पु¥याएकी छन् ।
हारपछि नेपाल अब दक्षिण एसियाली फुटबलमा सीमित भएको छ ।
Facebook Comment
Comment