युद्धविराम प्रस्तावमा हमास सकारात्मक, वार्तामा तत्काल प्रवेश गर्न तयार

नेपालभ्युज

युद्धविराम प्रस्तावमा हमास सकारात्मक, वार्तामा तत्काल प्रवेश गर्न तयार
तस्वीर - रोयटर्स

काठमाडौं । हमासले अमेरिकी प्रस्तावमा आधारित नयाँ युद्धविराम र बन्धक विनिमय योजनालाई “सकारात्मक प्रतिक्रिया” दिएको छ । सँगै उसले तत्काल वार्ताको अर्को चरणमा प्रवेश गर्न तयार रहेको पनि बीबीसीले जनाएको छ ।

एक वरिष्ठ प्यालेस्टिनी अधिकारीका अनुसार हमासले प्रस्तावको मूल ढाँचालाई स्वीकार गरिसकेको छ तर केही महत्वपूर्ण संशोधनहरू माग गरेको छ । ती संशोधनमा प्रमुख माग भनेको यदि स्थायी युद्ध अन्त्यबारेको वार्ता असफल भयो भने पनि युद्ध पुनः सुरु नहोस् भन्ने अमेरिकी सुरक्षा प्रत्याभूति हो ।

यसबीच, इजरायल र अमेरिकाले हमासको पछिल्लो प्रतिक्रियाबारे कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् । यद्यपि, विगतमा यस्ता मागहरूप्रति उनीहरूको अनिच्छा देखिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार बताएका थिए, “इजरायलले ६० दिनको युद्धविरामका लागि आवश्यक सर्तहरू स्वीकार गरिसकेको छ, जसको अवधिमा स्थायी युद्ध अन्त्यका लागि वार्ता अघि बढ्नेछ ।”

उनले हमासलाई चेतावनी दिँदै यो अन्तिम प्रस्ताव हो, यसभन्दा राम्रो अब आउँदैन भनेका थिए ।

प्रस्तावअनुसार, हमासले जीवित १० इजरायली बन्धकहरू र मृतक १८ जनाको शव फिर्ता गर्नेछ, जसको सट्टामा इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरू रिहा गरिनेछ । हाल गाजामा झन्डै ५० जना बन्धक छन्, तीमध्ये कम्तीमा २० जना जीवित रहेको विश्वास गरिन्छ ।

प्रस्तावमा गाजामा ठूलो मात्रामा मानवीय सहायता संयुक्त राष्ट्रसंघ (यूएन) र रेडक्रसको माध्यमबाट आपूर्ति गरिने उल्लेख गरिएको छ । तर, हमासले सहायता वितरण केवल यूएन र तिनका साझेदारमार्फत गरिनुपर्ने माग गर्दै इजरायल र अमेरिकाद्वारा समर्थित गाजा ह्युम्यानिटेरियन फाउन्डेसन (GHF) को वितरण प्रणाली तत्काल बन्द गरिनुपर्ने सर्त राखेको छ ।

यसबाहेक हमासले इजरायली सेनालाई मार्च महिनाको अन्तिम युद्धविरामअघिका स्थानहरूमा फिर्ता जानुपर्ने माग राखेको छ । प्रस्तावमा उत्तर र दक्षिण गाजाबाट क्रमिक रूपमा सैनिक फिर्ता गर्ने उल्लेख भए पनि हमास त्यसलाई अपर्याप्त ठान्दैछ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने सबै बन्धक मुक्त नभएसम्म र हमासको शासन तथा सैन्य संरचना पूर्णतः ध्वस्त नभएसम्म युद्ध रोक्न नसकिने अडान दोहोर्याएका छन् ।

इजरायली सेना अहिले पनि गाजा भरि हमासका सैन्य संरचनामाथि आक्रमण गरिरहेको छ । गाजाको हमास-नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३८ प्यालेस्टिनी नागरिक मारिएका छन् । दक्षिणी गाजाको खान युनिस क्षेत्रमा विस्थापितका लागि बनाइएका टेन्टमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको नासेर अस्पतालले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved