काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।
बेलायत–नेपाल चेम्बर अफ कमर्स र नेपाल दूतावास,लन्डनको संयुक्त आयोजनामा लन्डनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उत्पादन क्षेत्रमा नेपालमा आकर्षक अवसर रहेको बताउँदै बेलायती व्यवसायीहलाई लगानीका लागि आग्रह गरेका हुन् ।
कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपाल र बेलायतबीच २ सय वर्षभन्दा लामो ऐतिहासिक सम्बन्ध रहेको, गोरखा सैनिकहरूको भर्ती, विकास सहयोग, शिक्षा र व्यापारमा बेलायतको ठूलो योगदान रहेको बताए । दुई देशबीचको यो सम्बन्धलाई व्यापार र लगानीमार्फत थप उचाइमा पुर्याउनुपर्ने उनको भनाइ छ ।
नेपालको रणनीतिक भौगोलिक अवस्थिति, युवा र दक्ष जनशक्ति, कम श्रम लागत, र विस्तार भइरहेको मध्यम वर्गले लगानीमैत्री वातावरण निर्माण गरेको ढकालले बताए । ‘नेपालमा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उत्पादन क्षेत्रमा आकर्षक अवसरहरू रहेको छ,’ अध्यक्ष ढकालले भने, ‘नेपालसँग ४० हजार मेगावाटभन्दा बढी जलविद्युत् उत्पादन गर्न सक्ने क्षमता छ । स्वच्छ र हरित ऊर्जा भविष्य हो, र हामी बेलायती कम्पनीहरूलाई यी अवसरमा सहभागी हुन आमन्त्रण गर्छौं।’
सूचना प्रविधिमा नेपाली युवाको सीप र दक्षताले नेपाललाई आउटसोर्सिङ र डिजिटल सेवाको प्रतिस्पर्धी हब बनाउने ढकालले बताए ।
Facebook Comment
Comment