एनआरएनए अस्ट्रेलिया निर्वाचन : धमाधम उम्मेदवारी घोषणा

एनआरएनए अस्ट्रेलिया निर्वाचन  : धमाधम उम्मेदवारी घोषणा

सिड्नी । गैरआवासीय नेपाली संघ NRNA अस्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि निर्वाचन मिति नजिकिँदै गर्दा  उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ । जुलाई २६ मा हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै संघको केन्द्रदेखि विभिन्न राज्य इकाइहरूसम्म पदका लागि आकांक्षीहरूले प्रचार अभियान प्रारम्भ गरेका छन्।

संघको अध्यक्ष पदका अहिलेसम्म दुई जनाले उम्मेदवारी घोषणा गरेका छन् । हालका महासिचव सन्तोष कुँवरले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनले आफ्नो १० वर्षभन्दा बढी एनआरएनएमा काम गरेका छन् ।

कुँवर  दुई वर्ष महासचिव भई संस्थालाई थप उचाइमा लग्न काम गरेको बताउँछन् ।  नेपाल फेस्टिबललाई सफल बनाएको, सिड्नीमा एनआरएन ए भवन किन्ने, एनआरएनए फाउन्डेसन रजिस्टरलगायतका काम गरेको उनको दाबी छ ।

गएको कार्यकालमा एनआरएनए फाउन्डेसन एक मिलियन डलरको डोनेसन ल्याउन सफल भएको र आगामी कार्यकालमा त्यसलाई डबल गर्ने लक्ष्य राखेको,  दोस्रो पुस्तालाई नेपालसँग जोड्न एनआरएनएमा गराउने उनले योजना सुनाए ।

उता, संजीव ‘गोर्खाली’ ढकालले संस्थालाई संस्थागत गर्दै विद्यार्थी, महिला, युवा र क्षेत्रीय समुदायको आवाज उठाउने योजनासहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। ढकालले डार्विनबाट एनआरएनए अस्ट्रेलियाको अध्यक्ष पदको चुनावी अभियान सुरु गरेका छन् ।

ढकालले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै भनेका छन्, ‘हजुरबुवालगायत सम्पूर्ण अभिभावक, अग्रज, साथीभाइ तथा दिदीबहिनीहरूबाट पाएको साथ, माया र आशिर्वादले मलाई जिम्मेवार, इमानदार र सेवामुखी भावनाले भरिएको अभियान अघि बढाउन प्रेरणा दिएको छ।’ ढकाल हाल Team Unity बाट अध्यक्ष पदका लागि चुनावी दौडमा छन् ।

ढकाल नर्दन टेरिटोरी एनआरएनएका संयोजक तथा एनआरएनए अस्ट्रेलियाको उपाध्यक्षका रूपमा काम गर्दै आएका छन् ।

राज्य संयोजकहरूमा नयाँ र पुराना अनुहारको सहकार्य

क्वीन्सल्यान्ड राज्य संयोजकमा अतुल खड्काले उम्मेदवारी घोषणा गरेका छन् । १० वर्षदेखि एनआरएनए, QNCC, र NAQ जस्ता संस्थाहरूमा कार्यरत खड्काले विद्यार्थी, अप्ठ्यारोमा परेकाहरू र आपतकालीन सेवामा केन्द्रित योजना सार्वजनिक गरेका छन् ।

पश्चिम अस्ट्रेलियाबाट हरिबंशी संजेल (सुमन) ले खेलकुद, संस्कृतिको संरक्षण र पारदर्शी कार्यशैलीलाई जोड दिँदै उम्मेदवारी घोषणा गरेका छन् ।

न्यू साउथ वेल्स (NSW) राज्य संयोजकमा राज गुरुङ र रोशन भट्टराईबीच प्रतिस्पर्धा हुने देखिएको छ । दुवैले अनुभवी र पारदर्शी टिमको नेतृत्व गर्दै समुदायमा सेवा विस्तारको अठोट व्यक्त गरेका छन् ।

नर्दन टेरिटोरी (NT) मा त्रिलोचन सापकोटा र भवानी पौडेलले उम्मेदवारी घोषणा गर्दै क्षेत्रीय समावेशी कार्यक्रम, सामुदायिक हल निर्माण र सांस्कृतिक संरक्षणलाई प्राथमिकता दिएका छन् ।

NSW को युवा संयोजक पदमा सुदीपसिंह विष्ट (काजी) ले अनुभव र निष्ठाको आधारमा उम्मेदवारी दिएका छन् । उता, सम्राट कँडेलले युवालाई सशक्त बनाउने, अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्ने र आपतकालीन सेवामा युवा संलग्नता बढाउने एजेन्डासहित “Youth Deputy Co-ordinator” पदमा उम्मेदवारी दिएका छन् ।

संयोग गौतम (SCC सदस्य – NSW) र जितेन्द्र श्रेष्ठ (NCC सदस्य – NSW) ले समुदायको निरन्तर सेवामा सक्रिय भूमिका खेलेको अनुभवलाई अघि सार्दै  सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी एनआरएनएका अध्यक्ष अनिल पोख्रेल भन्छन् अहिलेसम्म पञ्जीकरणको काम सबै सकिएको छ । १७ हजारको हाराहारीमा रहेका मतदाताको आवेदनमध्ये १५,५५१ मतदाता वैधानिक रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved