‘कुलिङ अफ पिरियड’को विषय अब राष्ट्रियसभाको जिम्मामा

‘कुलिङ अफ पिरियड’को विषय अब राष्ट्रियसभाको जिम्मामा

काठमाडौैं । प्रतिनिधिसभाले कुलिङ अफ पिरियडको व्यवस्था खण्डित हुनेगरी विधेयक पारित गरेपछि त्यसलाई अब राष्ट्रियसभाबाटै टुंगो लगाउनुपर्ने अवस्था आएको छ । प्रतिनिधसधाबाट पारित विधेयकले कुलिङ अफ पिरियडको मर्म नै मारेर  उच्चपदस्थ कर्मचारीहरूको स्वार्थ सम्बोधन गर्ने भएपछि त्यसलाई संशोधन गर्नुपर्ने दबाब सांसदहरूले दिएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिकै प्रतिवेदनअनुसार विधेयक पारित भए पनि सभापति रामहरि खतिवडा र सदस्यहरूले आफूहरूले पारित गरेको भन्दा फरक व्यवस्था आएको भन्दै आपत्ति जनाएका छन् ।  यसपछि यो विषय कसरी टु‌ंगिन्छ भन्ने प्रश्न उठेको छ ।

मंगलबार समितिका सभापति र सदस्यहरूले सभामुख देवराज घिमिरेसँग यस विषयमा छलफल गरेका छन् । सभामुख घिमिरेले यो विषय अब राष्ट्रियसभामा जाने जवाफ दिएका छन् । सभामुखले राष्ट्रियसभाले मात्र यो विषय टुंग्याउने भनेसँगै अब यो सामान्य त्रुटिको विषय भएन । दफा नै थप भएकाले राष्ट्रियसभाले नै संशोधन गर्नुपर्ने हुन्छ ।

चौतर्फी बबाल

प्रतिनिधिसभाबाट विधेयक पारित हुँदा खुसी देखिएका सांसदहरू, कुलिङ अफ पिरियड कार्यान्वयन नहुने व्यवस्था देखेपछि आक्रोशित भएका छन् ।

मुख्यसचिव, सचिव र सहसचिवहरूको हकमा कुलिङ अफ पिरियड लागू नहुने गरी विधेयकमा दफा थप गरिएपछि सांसदहरूले सभामुख देवराज घिमिरेसमक्ष आपत्ति जनाएका छन् । संसद्को सार्वभौमिकता र गरिमालाई चुनौती दिनेगरी आपराधिक काम भएको भन्दै कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत दलका सांसदले सभामुख घिमिरेलाई यस प्रकरणको छानबिन गर्न माग गरेका  छन् । उनीहरूले समिति सभापति रामहरि खतिवडाको राजीनामा र समितिका सचिव सुरजकुमार दुरालाई कारबाही गर्नुपर्ने मागसमेत राखेका छन् ।

सांसदहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुख घिमिरेले प्रतिनिधिसभाले समितिबाट आएको प्रस्ताव जस्ताको त्यस्तै पारित गरेको बताएका छन् । यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित समितिले लिनुपर्ने उनको भनाइ छ । ‘सदनले समितिबाट आएको प्रस्तावमा केही थपघट नगरी जस्ताको त्यस्तै पारित गरेको हो । हरेक विधेयकको जवाफदेहिता र जिम्मेवारी सम्बन्धित समितिकै हुनेछ,’ उनले भनेका छन् ।

समितिको सहमति र पारित भएको विधेयक फरक रहेको सांसदहरूले बताएकाले यस विषयमा छानबिन हुने उनले बताए । ‘छलफल र बहस एउटा हुने, निर्णय एउटा हुने तर परिणाम भने त्यसलाई असर गर्ने खालको हुने कुरा कहाँबाट भयो ? कसको स्वार्थमा भयो ? त्यसबारे पनि खोजीनिती हुनुपर्छ’, उनले भने ।

सचिवहरूको दौडधुप नै देखाउँछ ‘कुलिङ–अफ पिरियड’को अपरिहार्यता

‘कुलिङ अफ पिरियड’को प्रावधान निष्प्रभावी बनाउन चलखेल गर्नेहरूमाथि कारबाही नहुँदासम्म राज्यव्यवस्था समितिको बैठक बस्न नसक्ने समिति सदस्यहरूको भनाइ छ । समिति सभापति खतिवडाले मंगलबार आकस्मिक बैठक राखेर अर्को सूचना नआउन्जेलसम्मका लागि बैठक स्थगित रहेको निर्णय गरेका छन् । उनले यस विषयको सत्यतथ्य छानबिन गर्ने पनि उल्लेख गरेका छन् । ‘यो विषयको सत्यतथ्य छानबिन हुनुपर्छ । म दोषी रहेछु भने ममाथि पनि कारबाही हुनुपर्छ,’ उनको भनाइ छ ।

‘कुलिङ अफ पिरियड’ कसरी निष्प्रभावी बनाइयो ?

राज्यव्यवस्था तथा सुशासन समितिले तयार गरेको संघीय निजामती विधेयकको प्रतिवेदनमा सबै प्रकारका सरकारी जागिरेहरूलाई लागू हुनेगरी कुलिङ अफ पिरियड व्यवस्था गरिएको थियो । यसले  सेवाबाट राजीनामा वा अवकाशपछि २ वर्षसम्म अन्यत्र नियुक्त लिन बन्देज लगाएको थियो । यो व्यवस्थाको विरोधमा थिए उच्चपदस्थ सरकारी अधिकारी ।

नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, संसद्का महासचिव पद्मप्रसाद पाण्डेय लगायत २० सचिवले यो व्यवस्था हटाउनका लागि सरकार, सभामुख, राजनीतिक दलका नेतासँग माग गरेका थिए । तर, समितिका सदस्यहरू ‘कुलिङ अफ पिरियड’को व्यवस्था हटाउन सहमत थिएनन् ।

राज्य व्यवस्था समितिले पारित गरेको प्रतिवेदन (बायाँ) र सरकारले ल्याएको सुरुको विधेयकमा गरिएको कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्था ।
उनीहरूले राजीनामा वा अवकाशपछि २ वर्षसम्म सरकारी कर्मचारीले संवैधानिक वा सरकारी नियुक्ति लिन नपाउने व्यवस्था पारित गरेका थिए । समितिले पारित गरेको विधेयकको दफा ८२ (४) मा भनिएको छ,‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन ।’

समितिले पारित गरेको यो व्यवस्था खण्डित हुने र उच्चपदस्थ सरकारी कर्मचारीको स्वार्थ पुरा हुनेगरी विधेयकको दफा ८२ मा उपदफा ५ थपियो । थपिएको यस व्यवस्थाले कुलिङ अफ पिरियडको मूल मर्म निष्प्रभावी बनायो । जसमा अवकाश पाएको २ वर्षसम्म अर्को नियुक्ति लिन नपाउने व्यवस्था गरिए पनि संवैधानिक वा कूटनीतिक नियुक्तिका लागि बन्देज लगाएन ।

यसले ‘कुलिङ अफ पिरियड’को मर्मविपरीत उच्चपदस्थ कर्मचारीहरूलाई अवकाशलगत्तै संवैधानिक, कूटनीतिक र नेपाल सरकारले आयोगको नाममा गर्ने नियुक्तिका लागि बाटो खुला गरिदियो ।

समितिले पास गरेको विधेयक प्रतिनिधिसभामा पेस गर्दा सामान्य प्रशासनमन्त्री राजेशकुमार गुप्ताले थप गरेर प्रतिनिधसभामा पठाएको सभापति खतिवडाको आरोप छ । ‘समिति सभापतिका रूपमा ममाथि उठेका प्रश्नमा मैले पनि जिम्मेवारी लिनुपर्छ । तर, मन्त्रीले नयाँ व्यवस्था किन थप्नुभयो । पूर्ण विधेयक पास गर्ने बेला उक्त विधेयक सांसदको हातमा समेत परेन । यो विषयsJ रहस्य छानबिनपछि बाहिर आउने नै छ,’ उनले भने ।

खतिवडाले भनेजस्तो स्थिति भने देखिँदैन । राज्यव्यवस्था समितिकै प्रतिवेदनमा दफा ८२ को उपदफा ४ मा रहेको नेपाल सरकारको पूर्व स्वीकृति नलिई भन्ने शब्दावली हटाउँदै त्यसलाई उपदफा ५ कायम गर्ने उल्लेख गरियो । उपदफा ४ मा सरकारी सेवाबाट राजीनामा गर्दा वा अवकाश पाएको २ वर्षसम्म नियुक्त लिन नहुने क्षेत्र तोकिएको छ ।

जसको (क) मा ‘संवैधानिक निकाय वा कुटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेकको पदमा नियुक्ति लिन’ भन्ने उल्लेख छ । यो व्यवस्था समितिकै प्रतिवेदनअनुसार दफा ५ कायम गरी प्रतिनिधिसभाले पारित गरेको हो । तर, यसलाई सांसदहरूले छलछाम, षड्यन्त्र र आपाराधिक काम भन्दै व्याख्या गरिरहेका छन् ।  ‘यो विधेयकमा चलखेल, धम्की दिने सचिवहरूकै कारण भएको हो यो विधेयक सच्चिनुपर्छ,’ एकीकृत समाजवादीका सांसद तथा समितिका सदस्य राजेन्द्र पाण्डेले बताए ।

सांसद सुमना श्रेष्ठ सांसदहरुले मुल विधेयकमा रहेको प्रावधान नहटाएकाले अरुलाई दोषारोपण गरेर सांसदहरु पन्छिन नमिल्ने बताउँछिन् ।’ अहिले चर्चामा रहेको बाहेक भन्ने शब्द मुल विधेयकमा छ । मुल विधेयकमा नहटाउँदासम्म त्यो कायमै हुन्छ । यो पूर्ण हेल्चेक्र्याइँको विषय हो । आफ्नो जिम्मामा आएको विधेयक पढ्दै नपढिकन गरिएको कमजोरीको जिम्मेवारी सांसदहरुले पनि लिनुपर्छ,’ उनले भनिन् ।

कसरी टुंगिन्छ कुलिङ अफ पिरियड निष्प्रभावी बनाउने प्रावधान ?

प्रतिनिधिसभाले असार १५ गते संघीय निजामती विधेयक बहुमतले पारित गर्‍यो । प्रतिनिधिसभाको नियमावलीको नियम १२७ अनुसार प्रतिनिधिसभाले पारित गरेको विधेयकलाई राष्ट्रियसभामा पत्रसहित पठाउने व्यवस्था छ । यस्तो विधेयकलाई राष्ट्रियसभाले जस्ताको त्यस्तै वा संशोधनसहित पारित वा अस्वीकृत पनि गर्नसक्छ ।  नियमावलीको नियम १३१ मा भनिएको छ, ‘प्रतिनिधिसभामा पारित भई राष्ट्रियसभामा पठाइएको विधेयक सो सभाद्वारा संशोधनसहित फिर्ता पठाइएको सन्देश प्राप्त भएमा यथाशीघ्र सचिवले सभामा पेस गर्ने र संशोधनसहितको प्रति सदस्यहरूलाई वितरण गर्ने,’ भनिएको छ ।

प्रतिनिधिसभाले पठाएको विधेयक राष्ट्रियसभामा टेबुल भएको दुई महिनाभित्र  राष्ट्रियसभाले प्रतिनिधिसभामा पठाउनुपर्नेछ । ‘कुलिङ अफ पिरियड’ को दफा ८२ को ५ (क) लाई अब राष्ट्रियसभाले सच्याएर प्रतिनिधिसभामा पठाउने सभामुख घिमिरले बताएका छन् । ‘अब यो विधेयक राष्ट्रिय सभामा पुगेको छ । राष्ट्रिय सभाले यो विधेयकलाई सच्याउने अपेक्षा गरिएको छ । राष्ट्रिय सभामा नमिलेका कुराहरू सहजै मिलाउन सकिनेछ,’ उनले भनेका छन् ।

संसद सचिवालयका पूर्व सचिव मुकुन्द आचार्य यसमा रहेका त्रुटि सच्याउने सजिलो विकल्प नै राष्ट्रियसभा रहेको बताउँछन्  । ‘यसमा रहेका त्रुटि सच्याउने उपाय नै राष्ट्रियसभाबाट हो । राष्ट्रियसभामा विधेयक टेबल भएपछि उसले संशोधनको म्याद दिन्छ । जे-जे मिलाउनुपर्ने हो त्यसपछि मिलाउनसकिन्छ,’ उनले भने ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहित खतिवडाले एक वक्तव्य जारी गर्दै कुलिङ अफ पिरियड राख्ने गरी सच्याउन राष्ट्रियसभालाई अनुरोध गरेका छन्  ।

सापेक्ष बनाउनुपर्छ ‘कुलिङ अफ पिरियड’

निजामतीमा कुलिङ पिरियड राख्न प्रस्ताव, ट्रेड युनियन नराख्ने विषयमा ‘मच्चियो मच्चियो थच्चियो’ 

‘कुलिङ अफ पिरियड’ लागू नगराउन गरिएको छलछामबारे छानबिनको माग


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved