काठमाडौं । थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न शिनावात्रा पदबाट निलम्बित भएकी छन् ।
कम्बोडियाका पूर्वनेतासँगको संवाद लिक भएपछि राजनीतिक संकटमा परेकी पेटोङटार्नलाई संवैधानिक अदालतले निलम्बन गरेको हो ।
कम्बोडियाली पूर्वनेता हुन सेनसँगको गोप्य टेलिफोन संवाद लिक भएपछि उनीमाथि राजीनामाको दबाब चुलिँदै गएको थियो ।
सार्वजनिक अडिओमा पेटोङटार्नले हुन सेनलाई “काका” भनेर सम्बोधन गरेकी थिइन् र थाइल्यान्डका एक सैन्य कमान्डरको आलोचना गरेकी छन्, जसले सीमा तनावको व्यवस्थापन गरेका थिए । यो अडिओ लिक भएपछि उनको तीव्र आलोचना भएको थियो र सत्तारूढ गठबन्धनको दोस्रो ठूलो दल भुमजाइथाई पार्टीले सरकार छोडेको थियो ।
त्यसपछि अदालतमा उनको बर्खास्तीको मागसहित मुद्दा दायर भएको थियो । संविधानिक अदालतले ७-२ मतले निर्णय गर्दै उनलाई निलम्बन गरेको हो । उनलाई आफ्नो पक्षमा बचाउ गर्न १५ दिनको समय दिइएको बीबीसीले जनाएको छ ।
निलम्बनसँगै पेटोङटार्न थाई इतिहासमा कार्यकाल नसकिँदै पद गुमाउने शिनावात्रा परिवारकी दोस्रो नेतृ बन्ने खतरा बढेको छ ।
प्रधानमन्त्रीको जिम्मेवारी अहिलेका लागि उपप्रधानमन्त्री सुरिया जुन्गरुङरुआङकितले सम्हाल्नेछन् ।
उक्त विवादका कारण उनको नेतृत्वमा रहेको फ्यु थाई गठबन्धन कमजोर बनेको छ । प्रमुख गठबन्धन सहयोगी भुमजैथाई पार्टी दुई हप्ताअघि समर्थन फिर्ता लिएको थियो ।
पछिल्लो सर्वेक्षणअनुसार पेटोङटार्नको जनमत समर्थन ३०.९ प्रतिशतबाट घटेर ९.२ प्रतिशतमा झरेको छ ।
राजनीतिक अस्थिरता र आर्थिक चुनौतीसँग जुधिरहेको थाइल्यान्ड अहिले फेरि एक गम्भीर मोडमा पुगेको छ, जहाँ शिनावात्रा परिवारको प्रभावशाली युग पुनः संकटमा परेको देखिन्छ ।
Facebook Comment
Comment