उड्न लागेको इन्डिगो विमानभित्र पेट्रोलको गन्ध आएपछि अचानक रोकियो उडान

नेपालभ्युज

उड्न लागेको इन्डिगो विमानभित्र पेट्रोलको गन्ध आएपछि अचानक रोकियो उडान
तस्वीर - एएफपी

काठमाडौं । भारतको प्रयागराज विमानस्थलबाट कर्नाटकको राजधानी बेंगलुरुका लागि उड्न लागेको इन्डिगो एअरलाइन्सको विमानको उडान रद्द गरिएको छ ।

यात्रुहरूले विमानभित्र “पेट्रोलजस्तो गन्ध” महसुस गरेपछि सावधानीस्वरूप उडान स्थगित गरिएको हो ।

उक्त उडान सोमबार बिहान ११:३५ बजे प्रयागराजबाट बेंगलुरुका लागि प्रस्थान गर्ने तालिका थियो । तर, यात्रुहरूले विमानभित्र असामान्य गन्ध महसुस गरेपछि सुरक्षाका कारण अन्तिम क्षणमा उडान रद्द गर्नुपरेको अधिकारीहरूले बताएका छन् ।

इन्डिगोका प्रवक्ताले यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै उडान रद्द गरिएको जानकारी दिँदै यात्रुहरूका लागि “वैकल्पिक व्यवस्था” गरिएको उल्लेख गरे ।

यात्रु सीएल बर्माका अनुसार यात्रुहरू विमानमा चढिसकेपछि पाइलटले सुरक्षा परीक्षण भइरहेको बताएका थिए । त्यसपछि केही अधिकारीहरू ककपिटमा पुगे र पाइलटसँग छलफल गरेपछि सबै यात्रुहरूलाई झोलासहित विमानबाट झर्न अनुरोध गरियो ।

बर्माले बताएअनुसार केही यात्रुहरूलाई अर्को उडानको व्यवस्था गरियो भने केहीलाई दिल्ली वा लखनऊ हुँदै बेंगलुरु पठाइएको थियो । केही यात्रुहरूका लागि होटलको व्यवस्था पनि गरिएको छ ।

विमानस्थल निर्देशक मुकेश चन्द्र उपाध्यायले जुन १२ मा अहमदाबादमा भएको एअर इन्डिया विमान दुर्घटनाको सन्दर्भमा प्रयागराज विमानस्थलमा अतिरिक्त सावधानी अपनाइएको जानकारी दिए । “पेट्रोलजस्तो गन्ध र सम्भावित प्राविधिक समस्याको आशंकाका कारण जोखिम टार्न इन्डिगोले उडान रद्द गरेको हो,” उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved