काठमाडौं । भारतको तेलंगाना राज्यको सांगरेड्डी जिल्लास्थित पसामिलाराम औद्योगिक क्षेत्रमा सोमबार भएको रिएक्टर विस्फोटबाट भएको ठूलो आगलागीमा अहिलेसम्म ३४ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रशासनले सिगाची रासायनिक कारखानामा भएको विस्फोट र आगलागीमा मृत्यु भएकामध्ये अहिलेसम्म चार जनाको मात्र पहिचान भएको जनाएको छ ।
दुर्घटनामा ३५ जना घाइते पनि भएका छन् । सबैको उपचार जारी रहेको छ ।
जिल्ला प्रशासनले दुर्घटनामा २४ जना अझै बेपत्ता रहेको र खोजी जारी रहेको जनाएको छ । ५७ जना भने सुरक्षित छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा लेखेका छन्, “तेलंगानाको सांगरेड्डीमा रहेको एक कारखानामा भएको आगलागी घटनामा मृत्यु भएकाहरूको मृत्युबाट म दुःखी छु । आफ्ना प्रियजन गुमाएकाहरूप्रति समवेदना छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।”
उनले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ दिने घोषणा पनि गरेका छन् ।
साथै, बिहार सरकारले पनि बिहारका बासिन्दा मृतकका परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ र घाइतेलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।
Facebook Comment
Comment