काठमाडौं । निर्वाचन आयोगले मंगलबार रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ का लागि उपचुनावको मिति घोषणा गरेको छ। यसअघि आफैँ उम्मेदवार रहेको क्षेत्रमा उपचुनाव हुने भएकाले कांग्रेस नेता बालकृष्ण खाँण उम्मेदवारीका लागि कांग्रेसमा दाबी गर्ने तयारीमा छन् । निर्वाचन आयोगले कात्तिक १७ गते सोमबारका लागि उपनिर्वाचन मिति तोकेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा थुनामुक्त खाँण के उपचुनाव लड्न पाउँछन् ?
सभापति शेरबहादुर देउवा निकट मानिने खाँण पछिल्लो समय इतरपक्षका नेता शेखर कोइरालासँग नजिकिएका छन् । कोइरालानिकट देखिएका खाँणलाई सभापति शेरबहादुर देउवाले आउँदो उपनिर्वाचनमा अघि सार्छन् या सार्दैनन् हेर्न बाँकी नै छ। उपनिर्वाचनको मिति घोषणा हुँदै गर्दा नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक चलिरहेको छ। अघिल्लो निर्वाचनमा दोस्रो भएको कांग्रेसले उपचुनावमा कसलाई अघि सार्ने भन्ने औपचारिक छलफल अघि बढाएको छैन । तर, २०७९ को आमचुनावमा पराजित खाँणको नाम उपचुनाव घोषणासँगै चर्चामा आएको छ ।
खाँण फेरि उठ्न पाउँछन् ?
नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी, किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधमा मुद्दा खेपिरहेका छन् खाँण । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको खाँणलाई उच्च अदालत पाटनले धरौटीमा थुनामुक्त गरेको थियो ।
उच्च अदालतको संयुक्त इजलासमा ‘राय बाझिएको’ अवस्थामा तेस्रो न्यायाधीशको निर्णयपछि खाँण ३० लाख रुपैयाँ धरौटीमा छुटेका थिए । खाँणलाई थुनामा पठाउने या नपठाउने भन्ने विषयमा उच्च अदालत पाटनको संयुक्त इजलासमा ‘राय बाझिए’को थियो । लगत्तै, तेस्रो न्यायाधीश समक्ष पेस भएपछि यो मुद्दामा खाँणलाई ३० लाख धरौटीमा छोड्न आदेश भएको थियो ।
धरौटीमा छुटेका बालकृष्ण खाँण उठ्ने चर्चासँगै आउँदो उपनिर्वाचनमा उनी उठ्न पाउने वा नपाउने भन्ने विषयमा कानुनी प्रश्न भने उठ्ने देखिन्छ ।
यसका लागि प्रचलित केही ऐनको व्यवस्था हेरौँ :
प्रतिनिधिसभा निर्वाचनलाई व्यवस्थित लागि ‘प्रतिनिधिसभा निर्वाचन ऐन २०७४’ प्रचलनमा छ । यो ऐनमा कस्ता कस्ता व्यक्तिहरू सांसद उम्मेदवार हुन् पाउँछन् भन्ने विषय व्यवस्था छ । कस्ता व्यक्तिहरू उम्मेदवार हुन पाउँदैनन् भन्ने पनि यही कानुनमा व्यवस्था छ ।
यही कानुनअनुसार खाँणलाई आउँदो उपचुनावमा उम्मेदवार बन्न प्रतिबन्ध नलाग्ने देखिन्छ । ठगी, किर्ते, राज्यविरुद्धको अपराध र सङ्गठित अपराधमा मुद्दा खेपिरहेका खाँण वर्तमान कानुनीव्यवस्था अनुसार आउँदो उपनिर्वाचनमा उम्मेदवार बन्नबाट रोकिँदैनन् ।
प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा १३ ले उम्मेदवारको अयोग्यतासम्बन्धी व्यवस्था गरेको छ । जसमा, अयोग्यताका लागि १० वटा बुँदाहरू रहेका छन् । त्यसअनुसार केही समीति मुद्दाहरूमा अदालतले ‘अन्तिम फैसला’ गरेको अवस्थामा मात्र उम्मेदवार बन्न पाउँदैनन् ।
अर्थात्, अदालतमा मुद्दा विचाराधीन भएकै आधारमा खाँणलाई उम्मेदवार बन्न नरोक्ने अधिवक्ता सुभाष आचार्य बताउँछन् । ‘गम्भीर फौजदारी मुद्दामा आरोप तारेख खेपिरहेका व्यक्तिलाई कानुनले नै निर्वाचनमा उम्मेदवार उठ्न छुट दिएको देखिन्छ’ अधिवक्ता आचार्यले भने ।
वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई पनि प्रचलित संविधान र कानुनका आधारमा बालकृष्ण खाँण उम्मेदवार हुन पाउने बताउँछन् । भट्टराईले कानुनले छुट दिए पनि पार्टीले टिकट दिँदा र निर्वाचनको बेला जनतामा जाँदा प्रश्न उठ्ने बताउँछन् ।
‘संवैधानिक व्यवस्था र कानुनी आधारमा उहाँ (बालकृष्ण खाँण) उम्मेदवार हुनबाट रोकिनु हुन्न’, भट्टराईले भने, ‘तर पार्टीले टिकट दिने/नदिने छलफलमा पनि प्रश्न उठ्नसक्छ । यदि पार्टीले टिकट दियो भने पनि जनताको बीचमा जाँदा नैतिकताको प्रश्न भने उठ्ने देखिन्छ ।’
रुपन्देही-३ मा अरू दलका उम्मेदवार को ?
२०७९ निर्वाचनमा राप्रपा पहिलो र कांग्रेस दोस्रो हुँदा रास्वपा तेस्रो र नाउपाले चौथो स्थान पाएको थियो । नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी (एस) का भने उक्त निर्वाचनमा उम्मेदवार थिएनन् ।
रुपन्देही-३ मा २०७९ को निर्वाचनमा एमालेको सहयोगमा राप्रपा चुनावी मैदानमा थियो । एमाले नेतृत्वले राप्रपाका नेता दीपक बोहोरालाई समर्थन गर्दा तत्कालीन एमाले नेता घनश्याम भुसाल भने आउट भएका थिए ।
एमालेबाट टिकट नपाएपछि क्षेत्र परिवर्तन गर्दै घनश्याम भुसाल रुपन्देही-१ बाट स्वतन्त्र हैसियतमा निर्वाचनमा होमिए । रुपन्देही १ मा एमालेले छविलाल विश्वकर्मालाई अघि सारेको थियो । भुसाललाई कांग्रेस, माओवादी र एकीकृत समाजवादीले समर्थन गरेका थिए ।
रुपन्देही-३ मा राप्रपालाई एमालेले सहयोग गर्दा कांग्रेस उम्मेदवार बालकृष्ण खाँणलाई भने नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी (एस)ले सहयोग गरेको थियो । खाँणले ३४ हजार ३६ मत ल्याउँदा बोहोरा ३६ हजार ७१७ मत पाउँदै निर्वाचित भएका थिए । घाँटीको क्यान्सरबाट गुज्रिरहेका बोहोराले एक शब्द नबोली प्रतिनिधिसभा निर्वाचन जितेका थिए । त्यही क्यान्सरको कारण गएको चैत १९ मा उनको निधन भएपछि यो सिट रिक्त भएको हो ।
हुन त: उपनिर्वाचनको मिति घोषणा हुनुअघि नै राष्ट्रिय दलहरू उपनिर्वाचनका लागि तयारीमा जुटेका थिए । एमालेमा नेता खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने गरी छलफल अगाडि बढाइसकेको छ ।
माओवादी केन्द्रले समेत उपनिर्वाचनमा एक्लै लड्ने गरी छलफल अघि बढाएको छ । बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका शीर्ष नेताहरूसँग उपनिर्वाचनलगायतका विषयमा छलफल गरेका थिए ।
मधेशकेन्द्रित दलहरूको संघीय लोकतान्त्रिक मोर्चा रुपन्देही ३ को उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का उम्मेदवारलाई सहयोग गर्ने गरी छलफलमा जुटेको छ ।
उपनिर्वाचनलाई प्रमुख एजेन्डा बनाएर संघीय लोकतान्त्रिक मोर्चाको बैठक बसेको थियो । बिहीबार र आइतबार बसेको मोर्चाको बैठकले नाउपाको उम्मेदवारलाई सहयोग गर्ने गरी छलफल चलाएको थियो । यद्यपि त्यसको निष्कर्ष भने निस्किएको छैन ।
Facebook Comment
Comment